काठमाडौं / सरकारले एकसाथ ठूलो संख्यामा सचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले सचिवहरूको सरुवा भएको जनाएको छ । प्रधानमन्त्री कार्यालयले बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सचिवहरूको सरुवा गरेको जनाए पनि अधिकांश मन्त्रीले भने सचिव सरुवामा अनभिज्ञता र असन्तुष्टि जनाए । टेनिस रोकाले लेख्नुभएको यो खबर आजको राजधानी दैनिकबाट लिएका हौं ।
सरकार परिवर्तनसँगै सरकारको कामकाजलाई सहज बनाउन सचिव तथा अन्य कर्मचारीको सरुवा हुने गरेकोमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रीलाई जानकारी नै नगराई सचिवहरूको सरुवा गरेको पाइएको छ । प्रधानमन्त्रीको निर्देशनमा आफूहरूसँग सुझाव नै नलिई सचिवहरूको सरुवा भएपछि मन्त्रीहरूले असन्तुष्टि जनाएका हुन् । ‘सचिवहरूको सरुवा गरेको सुनिएको त हो, तर हामीसँग सल्लाह गरेर होइन,’ एमालेकै एक मन्त्रीले भने ।
माओवादी केन्द्रका मन्त्रीहरूले पनि सचिवहरूको सरुवामा अनभिज्ञता र असन्तुष्टि जनाएका छन् । उनीहरूले प्रधानमन्त्रीले आफूसँग सल्लाह नै नगरी सचिवहरूको सरुवा गरेको जनाएका हुन् ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राई गृह र गृहका मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ ।
प्रधानमन्त्री कार्यालयकै सचिवहरू खगराज बराल शिक्षा र महेन्द्रमान गुरुङ सञ्चारमा सरुवा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव राजन खनाल अर्थ, सार्वजनिक खरिद अनुगमन कार्यालयका महेश्वर न्यौपाने अख्तियार, राष्ट्रिय योजना आयोगका विष्णु लम्साल रक्षा प्रधानमन्त्री कार्यालयका शरच्चन्द्र पौडेललाई योजना आयोगमा सरुवा गरिएको छ ।
यस्तै, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा रहेका मधुसूदन अधिकारी भौतिक पूर्वाधार, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल श्रम तथा रोजगार, नेपाल ट्रस्ट कार्यालयका अर्जुनकुमार कार्कीलाई पुनिर्निर्माण प्राधिकरण, वनका डा. युवकध्वज जीसी कृषि मन्त्रालय, पशुपन्छी मन्त्रालयमा रहेका विश्वनाथ ओली वन मन्त्रालयमा सरुवा भएका छन् ।
यसैगरी, अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने शिक्षा सचिव मधुप्रसाद रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । सरकारले प्रदेश १ का कामु मुख्यसचिव यादवप्रसाद कोइराला काठमाडौं महानगरपालिकामा सरुवा गरेको छ । गत ३ फागुनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसयता पहिलोपटक सचिवहरूको सरुवा भएको हो ।