भैरहवा, २९ फागुन।रुपन्देहीको तिलोत्तमा नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत भएको छ । मुलुकभरका महानगर, उपमहानगर र नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका संघले लगातार दोस्रो पटक उत्कृष्ट नगरपालिकाको रुपमा तिलोत्तमालाई पुरस्कृत गरेको हो ।
आर्थिक वर्ष २०७७/०७८ मा सामाजिक विकास क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेकोले त्यसको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।तिलोत्तमाले गत वर्ष सहरी सेवा प्रवाह तथा सुशासन विधामा पुरस्कार प्राप्त गरेको थियो । संघले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुरस्कार प्रदान गरेको छ ।
तिलोत्तमासँगै अन्य विधामा निलकण्ठ, वालिङ, हरिवन, पुतलिबजार, इलाम र राप्ति नगरपालिका पनि पुरस्कृत भएका छन् । संघले हरेक वर्ष उत्कृष्ट नगरपालिकाहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ ।काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेर प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई उत्कृष्ट नगरपालिका पुरस्कार–२०७८ स्वरुप कदर पत्र प्रदान गरे ।
सो अवसरमा तिलोत्तमा नगर प्रमुख घिमिरेले नगरपालिकाले प्राप्त गरेको पुरस्कारमा सबै जनप्रतिनिधि, कर्मचारीलगायत सम्पूर्ण नगरवासीको योगदान रहेको बताए ।उनले सबैको सहकार्य, सहयोगले तिलोत्तमाले रचनात्मक काम गर्न सकेको भन्दै आगामी दिनमा अझै रचनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले विभिन्न सूचकका आधारमा उत्कृष्ट घोषणा गरिएको बताए ।