नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा

नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा

डल्ली शाह (धर्मिन्दा )

पृष्ठभूमिः

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले बाईसे चौबिसे राज्यलाई एकिकरण गर्दै बृहत नेपालको निर्माण गरे । एकिकरण पश्चात उनका उत्तराधिकारी मुख्यतः बहादुर शाह र राजेन्द्रलक्ष्मीको नायवी कालमा नेपालको भू–भाग पूर्वमा टिष्टा नदीदेखि पश्चिममा सतलज नदी किनारसम्म फैलिएको कुल क्षेत्रफल २,०४,९१७ वर्ग कि.मी थियो । सोही क्रममा विश्वमा उदाउदो बेलायतले पुरै विश्वलाई अधिनस्त पार्ने क्रममा भारतको वेष्ट बंगालमा व्यापारीको रुपमा स्थापित भै साउथ एशिया कब्जा गर्ने क्रममा नेपालका तत्कालीन विभिन्न किल्लामा अत्याधुनिक हतियारसहित धावा बोलेका थिए । सो दुष्प्रयासलाई वीर गोर्खालीहरु शारीरिक रुपमा कमजोर, युद्दमा महिला बालक र बृद्धहरु सामेल भए । नाङ्गो खुकुरीले बेलायती साम्राज्यलाई परास्त गर्ने धर्ती भै विश्वसामु अडिएको मुलुकको रुपमा विश्वले चिनेको देश नेपाल हो ।

त्यो इतिहासलाई तत्कालिन समयमा दरबार भित्रको आन्तरिक कलहमा फसेको, राजा रणबहादुर शाहको असक्षमता, जङ्गबहादुरले राणाशासनको दायरा फराकिलो पार्ने रणनीतिमा लाग्नु र पाल्पा क्षेत्रका प्रशासन प्रमुख खड्ग शमशेरले बटौलीको सिउराज जोगाउन नसक्नुका साथै पैशाको प्रलोभन परी केही गोर्खाली भगौडा सैनिक बेलायतलाई सर्वस्व सुम्पी तत्कालीन इष्ट इन्डियन कम्पनी पश्चिम बंगालमा नुसिरी रेजिमेन्ट कम्पनी खडा गरेपश्चात नेपाल बाध्य भै सन् १८१६ मार्च ३ मा सुगौली सन्धी गरेपश्चात नेपालले कूल भू–भागको १÷३ भू–भाग गुमायो । नेपालको सिमाना पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्र रह्यो, कुल भू–भाग १४७,१८१ वर्ग कि.मी मात्र कायम रह्यो । सुगौली सन्धी पश्चात नेपाल आमाका इतिहासमा नहारेका सन्ततीले सिमानाको विवाद झेल्न सुरु गरे । पूर्व पश्चिम दार्जिलिङ पश्चिममा कुमाउ, गडवाल र दक्षिणमा सिउराज बाँके बर्दिया कैलाली र कञ्चनपुर गुमाएकी नेपाल आमाको भक्कानिएर रुदै गर्दा बेलायतले बाँके वर्दिया कैलाली र कञ्चनपुर दोश्रो विश्वयुद्ध पश्चात फिर्ता गर्दा पनि सन १९४७ मा स्वतन्त्रता भएपश्चात नेपालको बाँकी भूमि फिर्ता गर्नु कता हो नेपाल समस्यासंग लडिरहेको मौका छोपी सीमाना अतिक्रमणको चरण पराकाष्टामा पुगेको छ।

तत्कालीन अदुर्दसी सत्ता मोह उग्र मानसपटल भएका शासकले स्वेच्छाचारिताले विशेषतः पश्चिम क्षेत्रमा भारतीय सीमा सुरक्षा वलको अतिक्रमण गर्ने सीमाना चेप्दै नेपाली जनतालाई त्रसित पार्ने रणनीतिको पराकाष्टा अहिले पुन कालापानी र लिपुलेक परेको छ । कालापानी साविक ब्याँस गा.वि.स.को छाङ्गरु बाट करिब १५ कि.मि. उत्तर पश्चिममा पर्दछ । कालापानी क्षेत्रमा कालीको मन्दिर रहेको र पानीको मुहान समेत रहेको छ । एकतर्फी रुपमा भारतीय पक्षबाट कृतिम रुपमा महाकालीको मुहान र कालीको मन्दिर बनाएका २०/२५ बर्ष अघि भारतिय पक्षबाट निर्माण भएको थियो । कालापानिबाट वास्तविक सीमा जोलिङ्छाङ् ३८ कि.मि.उत्तर पश्चिममा अवस्थित रहेको छ ।

हिउँदको समयमा हिमपात हुनका साथै कुनै पनि मानव बस्तिहरु नरहेको लिङ्छाङ्मा एउटा कालिको मन्दिर रहेको छ । उक्त स्थानमा भारतले बंकर सहितका संरचना निर्माण गरि भारतीय सेना बाह्रै महिना बस्ने व्यवस्था बनाएको छ । लिङ् छाङ्मा कालिको मन्दिर क्षेत्रबाट नै महाकाली नदीको उत्पती रहेको छ । नेपाल भारतको सिमाना काली नदी हो । आफुलाई अनुकुल हुनेगरी कालिको मन्दिर बनाई त्यसलाई नै कालीको मन्दिर भनी भारतीय पक्षले सीमाना स्थापना गर्दै आएको छ । चिन र नेपालको सिमा रेखा काली नदी र टिंकर नदीको पानी ढलो सम्मिलित भएको स्थानबाट प्रारम्भ हुन्छ । लिम्पियाधुरालाई महाकाली नदीको मुहान र महाकालीलाई नेपाल–भारतको सीमा मान्नासाथ लिपुलेक भञ्ज्याङ र कालापानी स्वतः नेपालको हो भनेर प्रष्ट हुन्छ ।

भौगोलिक बनावट र सीमा स्तम्भ
कालापानी क्षेत्र दार्चुला सदरमुकामदेखि ८० कि.मि. उत्तरमा लिपुलेक दार्चुलादेखि १२० कि.मि., र टिंकर भञ्ज्याङ्ग दार्चुला सदरमुकामदेखि १४० कि.मि. टाढा पर्दछ । नेपाल – भारतबीचको पश्चिमी सीमानाको सबैभन्दा अग्लो भाग समुद्री सतहबाट ६,१८० मिटर लिपुलेक भन्ज्यांङ्गको उचाई– ५०९८ मीटर ,लिंपियाधुराको उचाई– ५,५३२ मीटर ,कालापनीको उचाई –३,५४८ मि. र टिंकर भन्ज्याङ्गको उचाई –५,२५८ मि. लिंपियाधुरासंगै जोडिएको पश्चिमतर्फको बह्रमा पर्वतको उचाइ ६‚१८० मिटर छ । चारैतिर घेरिएका हिमाल बाह्रै महिना हिउँले ढाकिएका हुन्छन् । साथै नगण्य मात्रामा उत्पादन र मानिसहरुको बसोबास रहेको छ ।

ब्यास गाउँपालिकामा जम्मा ६ वटा वडाहरु रहेका । ब्यास गाउँपालिकाको कार्यालय वडा नं. ४ सुन्सेरामा रहेको छ । यस जिल्लाको नेपाल र भारतको सीमानामा मुख्य पिल्लर ५६¸ सहायक पिल्लर १४१ वटा गरी जम्मा –१९७ क्वाडिनेट पिल्लरहरुको सर्भे मात्र गरिएको तथा निर्माण नभएको अवस्था छन । नेपाल र भारतको सीमाना महाकाली नदिले छुट्याएको छ । यसैगरी नेपाल र चीन सीमानाको साविकको व्यास गा.वि.स.को टिंकर भन्ज्याङ्गको भन्ने स्थानमा रहेको १ नम्बर मेन पिल्लर सबुत अवस्थामा रहेको छ ।

सामाजिक , सास्कृर्तिक, प्रशासनिक र राजनीतिक अवस्था
सुदुर पश्चिम प्रदेश दार्चुला जिल्लाको उत्तर पश्चिममा रहेको यस क्षेत्रमा सौका समुदायको मूख्य बसोबाँस रहेको छ । उक्त समुदाया हिउँदको समयमा सदरमुकाम झर्ने गर्दछन् भने गृष्ममा उक्त क्षेत्रमा बसोबाँस गर्दछन् । स्थानिय भाषा अनुसार त्यसरी बसाइ सर्नुलाई कुञ्जा सर्ने भनिन्छ । नेपालको वि. स. २०६८ को जनगणना अनुसार २,१४७ घरधुरी रहेको ब्यासँ गा.पा.को जनसंख्या १०,३४७ रहेको थयो । जातिय आधारमा ब्याँस गा पा को तथ्याङ्क अनुसार क्षेत्री – ५६% ,ब्रामण – २३ % ,दलित – १०% ,जनजाति सौका – ९ % ठकुरी – २% लगायतका समुदाय बसोवास गर्ने गर्दछन् ।

हालै सार्वजनिक भएको २०७८ को जनगणना अनुसार २१६८ घरधुरीसंख्या रहेको छ भने ब्यासँ गा.पा.को जनसंख्या १०,२०५ रहेको छ । ब्याँस गाउँपालिकाको वडा नं. १ र २ छाङ्गरु,टिंकर,कालापानी, लिपुलेक र राप्ला ग्रामिण एवं विकट बस्ति हो । यी दुई वडाहरुमा सौका समुदायको बाहुल्यता रहेको छ । उक्त ईलाकामा बसोबास गर्ने अधिकांस सौका समुदायको बाहुल्यता भएका कारण उनिहरुको आफ्नै किसिमको भेषभुषा र संस्कृर्ति रहेको छ । धार्मिक हिसाबले हिन्दु र बौध धर्म मान्ने गरेका छन् । यसैगरी चाडपर्वमा दशै,तिहार,गुम्बा पुजा,गभला पर्व मान्ने परम्परा रहेको छ । चाडपर्व पुजाआजा तथा बिवाह ब्रतबन्ध र मेला जात्रामा पुरुषहरुले रंगा र महिलाहरुले चुङवाला ड्रेस लगाउने चलन चल्तिमा रहेको छ । यो समुदायमा बस्ने सौकाहरुको आफ्नै सौका भाषा रहेको छ । राज्यबाट विकास र निकासको पर्खाइमा रहेको यो ठाँउ धार्मिक तथा पर्यटकिय गन्तबले भरिपुर्ण छ । यहाँका मुख्य ठाँउहरु अपि हिमाल, ब्याँस ऋषि हिमाल, नाम्पा हिमाल, तिंकर भञ्ज्याङग, ब्याँस गुफा, लिपुलेक, तिंकर गुम्वा आदि हुन् ।

दार्चुला जिल्ला ब्याँस गाउँपालिका वडा नं. १ र २ टिंकर, छाङ्गरु, र दुम्लिङ्गमा सौका समुदायको बाहुल्यता रहेको छ । त्यसैगरी बोहरा, तिंकरी, ऐतवाल, बुढाथोकी, कल्याल र लालाहरको बसोबास पनि रहेको पाईन्छ । नेपालमा संघिय संरचनालागु भएपिछ तत्कालिन ५ वटा गाँउ बिकास समितिहरु राप्ला, सुन्सेरा,धौलाकोट, हुति र ब्याँस गाँउ बिकास समितिहरु मिलाएर हालको ब्याँस गाँउपालिका निर्माण गरिएको हो । यस गाउँपालिकामा जम्मा ६ वटा वडाहरु रहेका छन । गाउँपालिकाको कार्यालय वडा नं.४ सुन्सेरामा रहेको छ ।
ब्याँस गाउँपालिकाको त्रिदेसिय नाकामा सीमा प्रशासन कार्यालय रहेता पनि अधिकृत स्तरको कर्मचारीको अभावका कारण सम्पुर्ण कामकाजहरु सदरमुकाम अवस्थित जिल्ला प्रशासन कार्यालयबाट गरिन्छ । दार्चुला जिल्ला ब्याँस गाँउपालिकाको राजनितिक अवस्था मिश्रित रहेको छ । ब्याँस गाँउपालिकाको जम्मा ६ वडाहरु मध्ये २, ५ र ६ मा नेपाली कांग्रेसले बिजय प्राप्त गरेको थियो । यसै गरी वडा नं. १, ३ र ४ मा नेकपा एमाले पार्टीले बिजयी बनेको थियो । यसैगरी गाँउ पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दिलिप सिह बुढाथोकी विजयी भएका थिए भने उपाध्यक्षमा नेपाली कांग्रेसकै हिमा भट्ट बिजयी बनेकी थिइन् ।

सडक र सञ्चार प्रबिधिको अवस्था अवस्थाः
जिल्ला सदरमुकाम दार्चुलाबाट करिब ४० कि.मि. ब्याँस गाउँपालिकाको वडा नं. ४ सुन्सेरासम्म कच्ची सिङ्गल सडक बर्षात्को समय बाहेक अन्य मौषममा सुचारु रहदै आएको छ । उक्त कच्ची बाटोमा ट्रयाक्टर र फोरव्हिल पिकअप भ्यानहरु मात्र संचालनमा हुन्छन् । कालापानीबाट तिंकर– २२ कि.मि. र कालापानी (भारतिय सैनिक स्थलबाट) छाङ्गरु– १४ कि.मि. तथा कालापानी बाट लिपुलेक भञ्ज्याङ्ग दुरि– १० कि.मि. का साथै लिपुलेक भञ्ज्याङ्गदेखि लिम्पियाधुरा भञ्ज्याङ्गसम्म डाडै डाडाँ पानि विभाजक श्रृंखलाको लम्बाई– ५३ कि.मि.रहुनाका अलवा खलंगा देखि लिपुलेक –१२५ कि.मि. र खलंगा देखि कालापानी –११५ कि.मि. टाढा भौगोलिक दूरीमा रहेका छन् ।

यस गाँउपालिकामा एउटा हुलाक कार्यालय रहेको छ भने स्थानिय र राष्ट्रिय पत्र पत्रिकाहरु आउने गर्दछन् । जसले नागरिकहरुलाई स्थानिय स्तरमा भएका घटना क्रमको जानकारी दिन मद्दत पुर्याएको छ । राष्ट्रिय पत्र हकमा भने पत्रिकामा गोर्खा पत्र कहिले काही मात्र आउने गर्दछ । ब्याँस गाउँपालिकामा अन्तर्गत कुनै निजी एफ.एम.संचालनमा रहेका छैनन् तर यहाँका बासिन्दा कालापानी एफ.एम.,रेडियो नेपाल, बि.बि.सी.नेपाली सेवा लगायत बिभिन्न किसिमका एफ.एम.हरुबाट समसामयिक समाचारहरु, गित संगीतहरुबाट मनोरञ्जन लिने गरेको पाईन्छ ।

ब्याँस गाउँपालिकाको अधिकांस भाग संचार सेवाबाट बञ्चित छ । यस गाउँपालिकामा स्काई फोनको टावर सञ्चालनमा रहेको छ भने नेपाल टेलिकमको टावर बन्ने क्रममा छ । संचालनमा रहेको स्काई फोनको पनि समय समयमा अवरुद्ध भईरहदा गाउँपालिकामा टेलिफोन र नेटको भरपर्दो माध्यम छैन ।