भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ वार्ता भएको छ । स्रोतका अनुसार यो भेट पूर्वनिर्धारित कार्यक्रममा भने थिएन । प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको हो ।
ओलीको भारत भ्रमणमा सरप्राइज हुने भन्दै गरिएको चर्चा आज भएको ‘वान टु वान’ वार्ता भएको विश्लेषकहरु बताउछन् । नयाँदिल्लीस्थित लोककल्याण मार्गमा रहेको मोदीको सरकारी निवासमा दुई प्रधानमन्त्रीबीच भेट भएको हो । यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि मोदीले पूर्वनिर्धारित कार्यक्रम विनै यसरी नै सरप्राइज भेट गरेका थिए ।
त्यसैगरी ओलीको स्वागतका लागि तय भएका अर्थराज्यमन्त्री शिवप्रताप शुक्ललाई अकस्मात परिवर्तन गरी गृहमन्त्री राजनाथ सिंहलाई एयरपोर्ट पठाउने निर्णय गरेर पनि भारतले ओलीको भ्रमणमा सरप्राइज दिएको विश्लेषकहरुको विश्लेषण रहेको छ ।
यसैबीच ओलीले आजै नयाँदिल्लीमा एक कार्यक्रमलाई सम्बोधन गरे । होटल ताजमा आयोजित इण्डिया नेपाल समिटलाई उनले सम्बोधन गरेका हुन् ।
यसअघि आज विहान ११ वजे इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री सिंहले ओलीको स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीनदिने औपचारिक भ्रमणका लागि अाज बिहान ९ बजे भारततर्फ प्रस्थान गरेका थिए ।
दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि ओली पहिलो विदेश भ्रमणमा भारत गएका हुन् । ओलीले तीनदिने भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकटा नायडुसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।
त्यस्तै चैत २४ गते शनिवार विहान ९ बजे राष्टपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सन, साँढे ९ बजे राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट, सवा १० बजे विदेशमन्त्री सुष्मा स्वराजद्वारा शिष्टाचार भेटवार्ता, ११ बजे महात्मा गान्धीको समाधीस्थल राजघाटमा द्धिप प्रज्वलन, साँढे ११ बजे हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवाता, साँझ ६ बजे उपराष्टपति बैंकया नायडुसँग शिष्टाचार भेटजस्ता सामान्य कार्यक्रम छन् । चैत २५ गते आइतवारै स्वदेश फर्कने प्रधानमन्त्री ओलीले त्यस दिन विहान उत्तराखण्डको ब्रिडर सिड प्रोडक्सन सेन्टर, एकीकृत कृषि परियोजनाको निरिक्षण, १ बजे गान्धी हलमा मानार्थ विद्यावारिधीको प्रमाणपत्र लिने कार्यक्रम छ ।