प्रधानमन्त्री ओली ५४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै भारत प्रस्थान

प्रधानमन्त्री ओली ५४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै भारत प्रस्थान

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली भारतको भ्रमणमा निस्किएका छन् । ओली ३ दिने औपचारिक भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।

नेपाल वायु सेवा निगमको विमानबाट प्रधानमन्त्री ओली आज बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निमन्त्रणामा ओली शुक्रबार ५४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै दिल्ली भ्रमणमा निस्किएका हुन्।

भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसहित चारजना मन्त्री, विभिन्न पार्टीका नौजना सांसद, मुख्यसचिव, परराष्ट्र सचिव, अरु केही सचिव, सरकारी तथा निजी सञ्चारमाध्यमका प्रतिनिधि सहभागी छन्।

भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योगमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र अर्थमन्त्री युवराज खतिवडा रहेका छन्। यस्तै भ्रमण टोलीमा उद्योगी व्यवसायी र कला क्षेत्रका प्रतिनिधि पनि समावेश छन्।

ओली भारत प्रस्थान गर्नुअघि सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, रक्षा मन्त्री ईश्वर पोखरेल, एमाले उपाध्यक्ष बामदेव गौतम, सुरक्षा निकायका प्रमुखहरुलगायतले विमानस्थलमा विदाइ गरेका थिए ।

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । ओली भ्रमण सकाएर आइतबार स्वदेश फर्कने छन् ।