उम्मेद्वार मनाेनयनमा एमाले भित्र मच्चियाे रडाकाे, स्थायी कमिटिमै उजुरी

उम्मेद्वार मनाेनयनमा एमाले भित्र मच्चियाे रडाकाे, स्थायी कमिटिमै उजुरी

काठमाडाैँ, १२ कार्तिक । उम्मेद्वार मनाेनयनमा एमाले भित्र रडाकाे मच्चिएकाे छ । अध्यक्ष केपि अाेली पक्षले बरिष्ठ नेता माधव नेपालपक्षलाई बहिष्कार गरेपछि अहिले पार्टीभित्र रणाकाे मच्चिएकाे हाे ।

उम्मेदवार मनोनयनमा कास्कीमा एकपक्षीय गरेकाे भन्दै अहिले एमाले स्थायी कमिटिमै उजुरी नै परेकाे छ । एमालेभित्रै एक खेमालाई षड्यन्त्रपुर्वक उम्मेदवार सिफारिसमा रोक लगाएको भन्दै यसरी उजुरी नै पर्न पुगेकाे हाे ।

कास्कीबाट वरिष्ठ नेता माधव नेपालपक्ष सिफारिसमै बडारिएको थियो । प्रदेशसभाका आकांक्षी एमालेका पूराना नेता श्रीनाथ बराल, प्रतिनिधी सभा सदस्य उम्मेदवारका आकांक्षी सांसद सीता गिरी वली, तुल बहादुर गुरुङ, प्रदेशसभाकै आकांक्षी विजयबाबु बनबासी र पूण्य पौडेलले छुट्टाछुट्टै उजुरी केन्द्रिय कमिटिमा पठाएका हुन् । प्रदेश कमिटि हुँदै सीधै केन्द्रमा उजुरी दर्ता गरेको नेताहरुले बताएका छन् ।

एमाले कास्कीले प्रजातान्त्रिक प्रणाली अनुसार उम्मेदवार सिफारिस गरेको भनेपनि नेपाल पक्षले भने षड्यन्त्रपूर्वक आफुहरुलाई पाखा पारिएको आरोप लगाएका छन् ।

‘पार्टीभित्रको सत्ताको चरम दुरुपयोग भएको छ । षड्यन्त्रपूर्वक हामीलाई पाखा पारियो‘, एक नेताले भने ‘संस्थापन पक्ष विरुद्ध हामीले उजुरी दर्ता गरेका छौं । यो पद्धतीले पार्टीलाई नै घाटा हुनेछ ।’

सुरुमा सर्वसम्मत गर्ने भनिएपनि अन्तिम समयमा अनपेक्षित रुपले भोटिङ गरिएको असन्तुष्ट ती नेताको गुनासो छ । पार्टीको एउटा खेमालाई निषेध गर्नकै लागि वहानाबाजी गरिएको असन्तुष्टहरु बताउँछन् ।

एमालेभित्र श्रीनाथ बराल, सीता गिरी वली, तुलबहादुर गुरुङ र विजयबाबु बनबासी नेपाल पक्षका मानिन्छन् भने पूण्य पौडेल बामदेव पक्षका रुपमा चिनिन्छन् ।

गुटगत राजनीतिका कारण केही नेताहरुलाई बाईपास गरेरै उम्मेदवार सिफारिस भएको भन्दै एमालेभित्र भुसको आगो सल्किएको छ । उम्मेदवार सिफारिस भोटिङ मार्फत गरिएको भनिएपनि आफु चुनावी प्रक्रियामा सहभागी नै नभएको सांसद वलीले बताएकी छिन् ।

अर्का सांसद तुल बहादुर गुरुङले असहमति जनाउँदा जनाउँदै संस्थापन पक्षले अटेर गरेको आरोप लगाए । उम्मेदवार सिफारिसकै दिन वली र गुरुङले निवेदन दिएर निर्णय सच्याउन माग गरेका थिए । तर निवेदनको सुनुवाई नभएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

‘नियोजित रुपमै एउटा विचार समुहलाई निषेध गरिएको छ ‘, नेता गुरुङले भने ‘ यो सरासर गल्ती हो । पार्टीको निर्णय प्रजातान्त्रीक हिसावले कार्यान्वयन गरिनुपर्छ ।’

एमाले कास्कीले भने निर्वाचनको परिणाम नै केन्द्रमा पठाएको बताएको छ । ‘केन्द्रले कम्तिमा एक महिला सहित ३/३ जनाको नाम पठाउन निर्देशन गरेको थियो । हामीले त्यही निर्देशन पालना गरेका हौं ‘, एक नेताले भने–’आकार घटाउन भोटिङ गर्नुपर्ने बाध्यता भयो । त्यसले राम्रा नेताहरु पनि पछि पर्नुभयो ।’

सबै नेताहरु भोटिङबाट पराजीत भएका सिफारिस समितिले जनाएको छ । ओली पक्ष हाबी रहेको कास्कीमा योग्य उम्मेदवारलाई पाखा लगाउने यसअघिको घटनाक्रम जस्तै यसपटक पनि मतदानमा पुर्‍याएको एमाले नेताहरु नै बताउँछन् । स्थानीय तहको चुनावमा पनि नेपाल पक्षधर नेताहरु मतदान प्रक्रियाबाट पराजीत भएका थिए ।

बराल प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ (ख), बनबासी क्षेत्र नम्बर १ (क), गुरुङ क्षेत्र नम्बर २ (क), पौडेल क्षेत्र नम्बर ३ (ख) र वली प्रतिनिधीसभा सदस्य क्षेत्र नम्बर ३ का आकांक्षी थिए ।

एमालेले प्रतिनिधीसभा र प्रदेशसभा सदस्यका लागि सबै क्षेत्रका उम्मेदवार भोटिङमार्फत टुंग्याएको थियो ।