भारतको एक अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई २० वर्ष अगाडि दुर्लभ वन्यजन्तुको सिकार गरेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकिदिएको छ।
‘हम साथ साथ हैं’ नामक एक फिल्मको छायाङ्कनको बेला पश्चिमी राज्य राजस्थानमा दुई वटा कृष्णसारको सिकार गरेको आरोप उनीमाथि थियो।
उनलाई सेन्ट्रल जेलको ब्यारेक नम्बर २ मा राखिएको छ, जहाँ बहुचर्चित ‘बाबा’ आशारामलाई पनि राखिएको छ ।
‘सुपरस्टार’को चमकदमकमा बाँचेका सलमानले आज उक्त जेलमा भुइँमै सुतेर रात काट्नुपर्ने छ । भारतीय मिडियाहरूले जनाएअनुसार सलमानलाई एउटा कम्बल दिइनेछ । उनको जीवन–सुरक्षालाई ध्यानमा राखी स्थानीय प्रहरी प्रशासनले जेलको सुरक्षामा भने कडाई गरेको छ ।
पहिलोपटक सलमानलाई सजाय हुँदा उनलाई जेलको ब्यारेक नम्बर १ मा राखिएको थियो । त्यसबेला उनी ‘कैदी नम्बर ३४३’को रूपमा सात दिन मात्र जेल बसेका थिए ।
जोधपुरस्थित अदालतले खानलाई उक्त अपराधमा १० हजार रुपैयाँ जरिवाना पनि गरेको छ। बाउन्न वर्षीय खानले माथिल्लो अदालतमा यो फैसलाविरुद्ध पुनरावेदन दिन सक्नेछन्।
यसअघि गाडी दुर्घटनामा सडकमा रहेका एक मानिसको हत्या गरेको आरोपमा चाहिँ सलमान खानलाई सन् २०१५ को डिसेम्बरमा निर्दोष ठहर गरिएको थियो।