श्री राधा माधव समितिमा महाशिवरात्री महोत्सव, विद्वत समाज नेपालको आठौं वार्षिकोत्सव

श्री राधा माधव समितिमा महाशिवरात्री महोत्सव, विद्वत समाज नेपालको आठौं वार्षिकोत्सव

काठमाडौं । जगतगुरु श्री कृपालु महाप्रभुद्वारा मानव कल्याण हेतु प्रदत्त भक्ति मार्गको जीवन दर्शन आफैमा अनुपम र प्रेरणादायी रहेकोले साधना र सेवामा समर्पित साधकहरु कर्मभावको अहंकार त्यागी स्व उन्नयन अनि मानव चेतना परिष्कारमा योगदान पुर्‍याउदै यस जीवन र परमार्थलाई समेत सार्थक बनाउने दिशामा सततः प्रयत्नशील रहनुपर्दछ । उक्त कुरा मन्त्रीपरिषदका पूर्व अध्यक्ष तथा विद्वत समाज नेपालका प्रमुख सल्लाहकार खिलराज रेग्मीले राधे राधे मा महाशिवरात्री तथा विद्वत समाज नेपालको आठौं वार्षिक उत्सवका अवसरमा आयोजित विशेषः आध्यात्मिक समारोहमा प्रमुख आतिथिको आसनबाट मन्तव्यकाक्रममा बताएका हुन् ।

विद्वत समाज नेपालका अध्यक्ष बाबुराम रेग्मीले जगद्गुरु श्री कृपालु महाराजका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजीको सत्प्रेरणाबाट गठित विद्वत समाज नेपाल विविध आरोह अवरोह सहित आठौ वर्षमा प्रवेश गरेको र यस अवधिमा यसै समाजको सक्रियतामा पाशुपत क्षेत्रको वनकालीमा आध्यात्मिक सारमा निर्मित कृपाुलु उद्यान निर्माणको अन्तिम चरणमा पुगी सार्वजनिक खुला निम्ति पशुपति क्षेत्र विकास कोषसंगको सहकार्यमा रुपरेखा तयार भईरहेको बताए ।

स्वागत मन्तव्यका क्रममा श्री राधा माधव समिति नेपालका उपाध्यक्ष तथा विद्वत समाज नेपालका सदस्य सुरेश प्रकाश आचार्यले नेपाल ६४ ज्योर्तिलिंग जस्ता अनुपम आध्यात्मिक आभूषणहरुले सिंगारिएको विश्वभरका आस्थाकेन्द्र आशुतोष भगवान श्री पशुपतिनाथको कृपाप्राप्त पावन भूमि रहेको बताउंदै यसको वृहत प्रचार प्रसारको आवश्यकता रहेको बताए ।

भगवान शिवको लीलामा आधारित सांस्कृतिक कार्यक्रम ,विशेष अभिषेक , आरती , प्रसादी वितरण सहित समाजका सदस्य उमा थापाको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा राधा माधव समिति नेपाल , विद्वत समाज नेपाल र डिभाईन युथ क्लव नेपालका सदस्यहरुको भव्य उपस्थिति थियो ।

यसैबीच महाशिवरात्री पर्वमा डिभाईन युथ क्लव नेपाल सम्वध्द ११० स्वयमसेवीहरुको पहलमा राधा माधव समिति नेपाल , विद्वत समाज नेपालद्वारा संयुक्त रुपमा पशुपती दर्शनार्थ आएका ८००० बढी श्रध्दालुहरुलाई प्रसादी स्वरुप हलुवा तथा कांडाको सेवा गरिएको थियो ।