विश्वकप छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

विश्वकप छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौँ, ९ फागुन।अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ ।

समूह ‘बी’ को विजेताको हैसियतमा अन्तिम चारमा पुगेको नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्नेछ । सेमिफाइनलमा युएईलाई पराजित गरे नेपाल दोस्रो पटक टी–२० विश्वकपमा छनोट हुनेछ ।यसअघि नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा ओमानले प्रस्तुत गरेको ८१ रनको लक्ष्य १४ ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३७ बलमा तीन चौकासहित रन बनाएर अविजित रहे । यस्तै, दीपेन्द्रसिंह ऐरीले ३१ बलमा तीन चौकासहित अविजित २७ रन जोडे । वान् डाउनमा क्रिजमा उत्रिएका कुशल मल्ल ‘गोल्डन डक’ भएका थिए । क्यानडाका सलमान नजर र कलिम सानाले समान एक विकेट लिए ।

टस जितेर ब्याटिङमा आएको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रनको योगफल तयार पार्‍यो । क्यानडाका दुई ब्याटरले मात्र दोहोरो अंकमा रन जोडेका थिए । क्यानडाका डिलोन हेलिगरले सर्वाधिक २३ रन बनाए । यस्तै कप्तान नभनित धनिवालले १८, ओपरन रायान पठानले १४ रनको योगदान गरे ।

छनोटको पहिलो खेलमा नेपालले शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३८ रनले पराजित गरेको थियो ।