बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं, ८ फागुन।अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो ।सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस एमसीसी परियोजना सम्झौता संसदमा दर्ता गरी ठोस निर्णय गर्ने पक्षमा छ भने गठबन्धनकै प्रमुख घटकहरु नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी यथास्थितिमा एमसीसी पारित गर्न नसकिने भएकाले सहमति खोज्नु पर्ने अडानमा रहेका छन् ।

एमसीसी संसदमा पेश गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता साझेदार दलहरु बिभाजित हुँदा कूटनीतिक क्षेत्रमा असर परेको बेला एमसीसीमा उपयुक्त विकल्प खोज्न यो बैठकबाट प्रयास गरिने नेताहरुले बताएका छन् ।गत शुक्रबार बसेको गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको बैठक निर्णायक हुने बताएका थिए । त्यसैले आजको बैठकलाई चासोका साथ हेरिएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव पेश गर्ने सरकारको तयारी छ ।