एक कल फोनकै कारण प्रचण्ड थचक्कै

एक कल फोनकै कारण प्रचण्ड थचक्कै

काठमाडौं । गिरिजाप्रसाद कोइरालाले २०५२ सालमा बनेको एमालेको सरकारबारे टिप्पणी गर्दै भनेका थिए– ‘मैले जतिबेला चाहन्छु, त्यतिबेला ‘फु’ गरेरै यो सरकार ढालिदिन्छु ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि सबै कुरा मिलिसकेको समाचार आइसकेपछि नेपाली कांग्रेसका एकजना सांसदले भनेका थिए– ‘मैले चाहेँ भने एक कल टेलिफोनका भरमा यो एकीकरण रोकिदिन सक्छु ।’ पाँच–सातजना पत्रकारसामु अनौपचारिक जमघटमा अमरेशकुमार सिंहले दिएको यो अभिव्यक्ति समाचार बन्छ भन्ने कसैले ठानेनन्, अर्थात् वास्तै गरेनन् । एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको ठम्याइँमा सबै पुगेका कारण अमरेश सिंहको यो अभिव्यक्ति वास्तै गरिएन ।

यतिबेला एउटै टेलिफोन कलले एमाले र माओवादीबीच एकीकरण प्रक्रिया संकटमा परेको छ । त्यो टेलिफोन कलका सूत्राधार नेपाली कांग्रेसका लो–प्रोफाइलका सांसद एवं नेता अमरेश नै हुन् या आरु कोही हो ? भन्ने भेद अझै खुल्न सकेको छैन । सरकार गठनअघि नै पार्टी एकीकरणका लागि लालायित भएको माओवादीले यतिबेला चुनाव चिन्ह हँसिया हथौडा नै हुनुपर्ने र ‘जनयुद्ध’लाई महान अभियान भनेर उल्लेख गर्नुपर्ने सर्त राखेको छ । यो सर्तलाई माओवादीले ‘बटमलाइन’ भनेको छ । तर यो सर्त एमालेद्वारा कुनै हालतमा पनि स्वीकार गरिँदैन भन्ने माओवादीलाई थाहा छ ।

दुई तिहाइ बहुमतसहितको एकमना सरकारको प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्ने चहनाअनुसार नै प्रधानमन्त्री खड्ग ओलीले पार्टी एकीकरण प्रक्रिया टुंग्याउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रस्ताव राखेका थिए । प्रधानमन्त्री ओलीको यो प्रस्तावलाई सहर्ष स्वीकार गर्दै माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिए । यो समाचार तत्काल मिडियामा पुग्यो । उनी आफ्नो निवास पुगेर लुगा फेर्न नपाउँदै टेलिफोन आयो । त्यो एक कलले प्रचण्ड पसिनै पसिना भए । एक कल कसको हो ? भन्ने रहस्य खुल्न सकेको छैन ।

समाचार स्रोतका अनुसार त्यो एक कल फोनमा भनिएको थियो– ‘ओलीको भारत भ्रमणअघि एमालेमा विलय हुनुभयो भने तपाई समाप्त हुनुहुनेछ, हेगमा जानबाट जोगाउन तपाईलाई कसैले रोक्न सक्ने छैन ।’ यो सन्देशपछि प्रचण्ड शिथिल भए । तत्काल आफ्ना निकटस्थहरूलाई बोलाएर भने– ‘कुरा गम्भीर भयो, मैले ओलीजीलाई बचन दिइहालेँ, अब भोलिको बैठकमा तपाईहरूले एमालेसँग एकीकरण हुनै नसक्ने एजेन्डा ल्याइदिनुप¥यो, ताकि पार्टीले मानेन भनेर म उम्कन सकुँ ।’ भोलिपल्टको बैठकमा प्रचण्डका सहयोगीहरूले त्यही ढंगको एजेन्डा लगे । चुनाव चिन्ह र जनयुद्धको एजेन्डा अघि सारे मात्रै एकीकरण प्रक्रियाबाट उम्कन सकिने ठहरमा माओवादी पुग्यो ।

यतिबेला एमालेसँग ७० प्रतिशत र माओवादीसँग ३० प्रतिशत सांसद छन् । एकीकरणपछि आफ्नातर्फका ३० प्रतिशतमध्ये १५–२० जना ओलीसँग टासिन्छन् भन्ने भेउ प्रचण्डले यसअघि नै पाएका थिए । एकीकरण भइसकेपछि पेलानमा परियो भने छुट्टिनका लागि ४० प्रतिशत सांसद जुटाउनुपर्छ । तर यो हैसियत आफ्नो नरहेपछि जे पनि हुने र अहिले भारतको आग्रह नमान्दा भोलि हेगमा जानुपर्ने हो कि ? भन्ने त्रासमा प्रचण्ड परे । आफूसँग पार्टी नै नरहेपछि कसको आडमा हेग जानबाट बच्ने ? भन्ने समस्यामा प्रचण्ड परेकै कारण पार्टी एकीकरण प्रक्रिया संकटमा परेको समाचार स्रोतले जनाएको छ । -तरुण साप्ताहिकबाट