सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी छानियाे

सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी छानियाे

बुटवल, २६ माघऽ।बहुचर्चित सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी छनोट भएको छ ।

बुटवल-नारायणगढ सडक बिस्तारको काम गरिरहेको चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’ ले नै सिद्धबाबा सुरुङमार्ग निर्माणकाे ठेक्का पाएकाे हाे ।सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि गत जेठ ९ गते ग्लोबल टेण्डर आह्वान भएको थियो । सडक विभागका अनुसार सिद्धबाबाको सुरुङमार्ग निर्माणका लागि भएको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ कबोल गरेको छ । यो प्राविधिक रुपमा पास भएर आर्थिक प्रतिष्पर्धा गरेका चार कम्पनीमध्ये सबैभन्दा कम रकमको कबोल अंक भएकाले कम्पनी छनोट भएको हो ।

यो कम्पनीले निर्माण गरिरहेको बुटवल–नारायणगढ सडक बिस्तारको काम भने निकै सुस्त छ । सिद्धबाबा सुरुङ मार्गमा पनि यस्तै ढिलासुस्ती हुने आशंका सरोकारवालाहरुले औंल्याउन थालेका छन् । यो कम्पनीले काठमाडौं–तराई मधेश द्रुतमार्गमा बन्ने सुरुङमार्गको पहिलो प्याकेजको कामको पनि जिम्मा पाएको छ ।सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो । यसअनुसार सुरूङको डिजाइन पनि कम्पनीले नै तयार गर्नुपर्छ । तर, अझै सडक विभागले ठेक्का स्वीकृत गर्ने आशयपत्र जारी गर्न भने बाँकी छ ।

यो ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङको निकटतम् चीनकै प्रतिद्वन्दी कोभेक–सीआरईजीसी जेभीले सात अर्ब ७९ करोड ९७ लाख रुपैयाँ कबोल गरेको छ । चीनकै सीसीईसीसी सीआरसीसी १४ सियुआन जेभीले नौ अर्ब ८० करोड १६ लाख रुपैयाँ कबोल गरेको छ । चाइना फर्सट हाईवे इन्जिनियरिङले ११ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ कबोल गरेको छ ।ठेक्कामा सबैभन्दा कम रकम कबोल गरेकाले चाइना स्टेट इन्जिनियरिङलाई नै ठेक्का दिने स्वीकृतिका लागि आयोजनाले सडक विभागसमक्ष सिफारिस गरेको छ । तर, विभागले यसबारे अन्तिम निर्णय गरिसकेको छैन ।

केपी ओली नेतृत्वका सरकारका अर्थमन्त्री विष्णु पौडेलले २०७७ मंसिर १ गते सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँको बजेटको स्रोत सुनिश्चितता गर्दै मन्त्रिपरिषदबाट निर्णय गराएका थिए । सडक विभागले गत जेठ ९ गते ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आहृवान गरेको थियो ।स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसन (एसडिसी) ले गरेको अध्ययनको प्रतिवेदन अनुसार टेन्डर आहृवान भएको थियो । यो सुरुङमार्ग १.१२६ किलोमिटर लामो हुनेछ । सुरुङमार्ग सुरु हुनुभन्दा अगाडि र पछाडि तीन हजार ५०० मिटरको रकनेट (जाली) राखिनेछ । करिब पाँच वर्षमा यो सुरूङमार्ग निर्माण गरेर सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।

२०७२ सालको बजेट भाषणमा तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले नै सिद्धबाबा सडक खण्डमा सुरुङ बनाउन भन्दै बिस्तृत अध्ययनका लागि बजेट बिनियोजन गरेका थिए ।सिद्धबाबा खण्डको डेढ किलोमिटर क्षेत्र पहिरो र दुर्घटनाको अत्यधिक जोखिमयुक्त क्षेत्रमा पर्छ । हरेक वर्ष वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्दा जनधनको क्षति हुने गरेको छ ।

गएको १० वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक छ । सवैभन्दा बढी २०५४ सालमा एउटै घटनामा ३२ जना निर्दोष यात्रुको ज्यान गएको प्रहरीको तथ्यांक छ । धेरैले यसलाई मृत्युमार्गको रुपमा समेत व्याख्या गर्ने गर्छन् । यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ हुँदै म्याग्दीसम्म गाडी चल्ने गर्छन् ।