कञ्चनपुर । गृहजिल्ला कञ्चनपुर भ्रमणमा रहेकी खानेपानी मन्त्री बिना मगरलाई बेलौरी नगरपालिकाले २१ किलोग्रामको माला लगाएको छ। नगरपालिकाको तर्फबाट २१ माग राख्दै २१ किलोको माला लगाइएको हो।
नगरपालिकाको तर्फबाट नगर प्रमुख पोतिलाल चौधरीले मन्त्री मगरलाई २१ किलोको माला लगाएका छन्। स्थानीय मतदाताकै समर्थनले सिहदरवारसम्म पुगेको बताउदै मन्त्री मगरले नगरपालिकाले राखेका माग पूरा गर्न पहल गर्ने बताए।
२१ किलोको मालाले मलाई थप जिम्मेवारी बोध गराएको मन्त्री मगरले बताइन्। नगरपालिकाले बुझाएको मागपत्रमा छोटी भन्सार बैशाखालाई आधुनिक सुविधासम्पन्न भन्सारको रुपमा विकास गर्नुपर्ने माग समेटिएको छ।
नगरपालिकाभित्र रहेका तालतलैयालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरि रोजगारी सिर्जना गर्नुपर्ने, सबै वस्तीमा शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, आरक्ष विस्थापितको समस्या समाधान गर्नुपर्ने, स्वरोजगार र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका माग गरिएका छन्।
द्वन्द्वका क्रममा दुबै पक्षबाट भएकासहिद तथा बेपत्ताका परिवारजनलाई सम्मान गर्ने कार्यक्रममा नगरपालिकाले मागपत्र पेश गरेको हो। कार्यक्रममा नगरपालिकाले सहिद तथा बेपत्ताका परिवारजनलाई साइकल वितरण गरेको छ।