मन्त्रीबाटै काेराेना मापदण्ड उल्लंघन, छाेरीकाे बिहेमा पाँच हजारलाई आमन्त्रण

मन्त्रीबाटै काेराेना मापदण्ड उल्लंघन, छाेरीकाे बिहेमा पाँच हजारलाई आमन्त्रण

-विशाल बस्नेत-

महोत्तरी, १२ माघ । कोरोना महामारीका कारण २५ जनाभन्दा बढी भिडभाड गर्न नपाइने, सभा, सम्मेलन, भोज आयोजना गर्न वा गराउन नपाइने जस्ता मापदण्ड जारी गरिएकाे छ । तर,मधेस प्रदेश सरकारका सूचना, सञ्चार तथा संघीय मामिलामन्त्री भरतप्रसाद साहले पाँच हजारभन्दा बढी निमन्त्रणा कार्ड वितरण गरेर कोरोना मापदण्डको खुलेआम धज्जी उडाएका छन ।

१३ माघमा मन्त्री साहकी छोरी मेघा साहको विवाह रौतहट निवासी रोमन साहसँग हुँदै छ । तर मन्त्री साहले पाँच हजारभन्दा बढी कार्ड वितरण गरेर भोजमा सहभागी हुन निमन्त्रणा गरेका छन् । साहले शुभचिन्तकहरूलाई मंगलबारकाे प्रीतिभोज र बुधबार हुने पूजा एवं मटकाको अवसरमा जसरी पनि पार्टीमा सहभागी हुन आग्रह गरेका छन् ।

सरकारको नेतृत्वमा मन्त्रीजस्तो पदीय मर्यादा र जिम्मेवारीलाई ख्याल नै नगरी मन्त्री साहले स्वयं कोरोना मापदण्ड र आचारसंहिताको खिल्ली उडाउँदा निक्कै आलोचना भएको छ ।

मंगलबार बिहान १० बजेदेखि मन्त्री साहले दिएको भोजमा झन्डै २५ सयभन्दा बढी मानिस गौशाला नगरपालिकाको फुल्कास्थित उनकाे निवासमा सहभागी भएका थिए । `हामी जाँदा निक्कै भिड थियो, मानिसहरूले कुनै मापदण्डको ख्याल गरेका थिएनन्,´ भोजबाट फर्किएका एकजना सहभागीले भने ।

आफै नियम कार्यान्वयन गराउने निकायको जिम्मेवार पदमा रहेका मन्त्री साहको उनकै पार्टी माओवादी केन्द्रमा समेत आलोचना भएको छ । आचारसंहिताविपरीत मन्त्री जस्तो व्यक्तिले खिल्ली उडाउँदा लोकतन्त्र र संविधानकै विषयमा अनेकौ प्रश्नचिन्ह खडा भएको नेताहरूले विश्लेषण गरेका छन् ।

कुनै पनि माहामारीको समयमा सरकारले निर्धारण गरेको मापदण्डविपरीत कसैले अटेर गरेमा रोग संक्रमण ऐन २०२० बमाेजिम कडा कारबाही हुने प्रावधान छ । तर मन्त्रीले नै ऐन हातमा लिएर खुलेआम चुनौती दिँदा पनि सरोकारवाला निकाय मौन देखिएको छ ।

यस विषयमा कुराकानी गर्न गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो र प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालसग सम्पर्क गर्न खोज्दा उनीहरूसँग सम्पर्क हुन सकेन ।

मन्त्रीले कोरोनाको जोखिमबाट बच्न सर्वसाधारणलाई सचेत गराउनुको सट्टा हजारौ भिड जम्मा गरेर रोग फैलाउन सहयोग गरिरहेकोसमेत आरोप उनीमाथि छ । काेराेना बढेसँगै अहिले जिल्लामा भिडभाड हुने ठाउँहरूमा चलपहल कम भएको छ । मन्त्री साहकाे पालिकामा अझै ४५ प्रतिशत सर्वसाधारण खोप लगाउनबाट वञ्चित छन् ।