संविधानविदहरूसँगको छलफल पछि मात्र सर्वदलीय बैठक तय गरिने

संविधानविदहरूसँगको छलफल पछि मात्र सर्वदलीय बैठक तय गरिने

काठमाडौं, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार बिहान डाकेकाे सर्वदलीय बैठक अनिश्चित बनेकाे छ । बालुवाटार स्रोतकाअनुसार संविधानविदहरूसँग पहिले छलफल गरेर मात्र सर्वदलीय बैठक बोलाउनेबारे छलफल भइरहेको छ। स्रोत भन्छ – ‘स्थानीय तहको निर्वाचनबारे पहिले संविधानविद्हरूसँग छलफल गर्ने र सर्वदलीय बैठक बोलाउनेबारे छलफल भइरहेको छ ।’

उता सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक नबोलाएको बताएका छन् । प्रवक्ता कार्कीले भने – ‘सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुभएकै छैन । कसरी समाचार मिडियामा आयो ?’

सत्तारुढ पाँच दल सम्मिलित राजनीतिक समन्वय समितिको बैठकमा नेकपा माओवादी र एकीकृत समाजवादीले स्थानीय तहभन्दा पहिले संघकाे निर्वाचन गर्नुपर्ने धारणा राखेका थिए भने त्यसयता मंसिरमा तीन तहकै निर्वाचनबारे छलफल भइरहेकाे छ । तर संविधान र कानुनअनुसार स्थानीय तह जनप्रतिनिधिविहीन बनाउन मिल्दैन । त्यसका लागि वैशाखमा चुनावका लागि मिति ताेक्न निर्वाचन आयाेगले सरकारलाई सिफारिस गरिसकेकाे छ ।

तर, गठबन्धन भने स्थानीय तहको निर्वाचनसम्बन्धी कानुनमा बाझिएको दाबी गर्दै आएकाे छ । याे विषयमा विज्ञसँग छलफलमार्फत समाधान गर्ने गरिने भएकाे हाे ।

प्रमुख प्रतिपक्ष एमालेले संघकाे निर्वाचन पहिले कि स्थानीय तहकाे निर्वाचन भनेर टिप्पणी गरेकाे छैन । तर स्थानीय तहकाे निर्वाचन वैशाखमै हुनुपर्ने अडान राख्दै आएकाे छ । सर्वदलीय बैठकबारे जानकारी प्राप्त नभएकाे बताएकाे एमालेले शनिबार बिहान भनेकाे छ -स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा एमालेको किमार्थ सहमति नहुने धारणा स्पष्ट नै छ ।’