कांग्रेस नेता खड्काको शव जेट एयरबाट राती साढे ९ बजे नेपाल ल्याइँदै

कांग्रेस नेता खड्काको शव जेट एयरबाट राती साढे ९ बजे नेपाल ल्याइँदै

काठमाडौं, १७ चैत । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व गृहमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीर आज स्वदेश ल्याइँदैछ । आवश्यक कागजपत्र निर्माणमा समय लागेपछि उहाँको पार्थिव शरिरलाई जेट एयरको विमानबाट राती साढे ९ बजे त्रिभुवन विमानस्थल काठमाडौं ल्याईपुर्‍याईने कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

खड्काको पार्थीव शरिर भोलि श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ ।

भारतको नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालमा उपचारका क्रममा खड्काको शुक्रबार बेलुकी निधन भएको हो । मिर्गौला, छाती र नसाको समस्याबाट पीडित भएपछि खड्कालाई उपचारका लागि नयाँदिल्ली लगिएको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार नेता खड्काको निधनका कारण कांग्रेसले तीन दिनसम्म कुनैपनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।आइतबार बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक पनि स्थगित गरिएको छ ।

काे हुन् खड्का ?

२००८ सालमा जन्मेका खड्का आठपटक मन्त्री बनेका थिए। उनी २०४८ सालदेखि २०५८ दश वर्षको अवधिमा आठपटक मन्त्री भए। सधैं प्रभावशाली मन्त्रालयको मात्र जिम्मेवारी पाएका खड्का २०५१ सालमा एमालेको ९ महिने शासनकाल र २०५२ मा लोकेन्द्रबहादुर चन्दको पालामा बाहेक ०५८ अघिका सबै सरकारको निर्णायक व्यक्ति नै उनी थिए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य खड्काले पार्टीको नीतिविपरीत धर्मनिरपेक्षता र गणतन्त्रको विरोध गरेका थिए।