

-मुकुन्द अर्याल
काठमाडौं, ३० पुस।श्री राधा माधव समिति नेपाल सम्वध्द डिभाईन युथ क्लव (डिवाईसि ) नेपालका विभिन्न शाखाहरुद्वारा विद्यार्थीहरुलाई न्यानो वस्त्र वितरण गरियो ।
यस क्रममा श्रीकृष्ण प्रा.वि.चापाकोट स्यांङ्खजाका २७ जना ,श्री चण्डेस्वरी आधारभूत विद्यालय रामथुम्कि व्यास नपा ११ तनहुका २५ जना ,श्री सरस्वती आधारभूत विद्यालय महाकाली २ मा ३७ जना ,श्री सिध्द प्रा.वि. घोराही उप महानगर पालिका १ मा २५ जना ,श्री शिशु कल्याण सामुदायिक प्रा.वि. पोखरा मनपा ३३ खल्लंग मा ५७ जना सहित कूल.१७१ विद्यार्थीहरुलाई तत्तत्स्थानमा आयोजित संक्षिप्त कार्यक्रमहरुका बीच न्यानो वस्त्र वितरण गरियो । सो अवसरमा स्थानीय महानुभावहरुले डिवाईसिका भाई वहिनीहरुले खाजा खर्च जोगाएर गरेको यस उदाहरणीय पावन सेवाका निम्ति सम्वध्द सबैलाई धन्यवाद ज्ञापन गर्दै क्लवबाट आगामी दिनमा दीन दुखीको सेवामा थप सक्रियताको अपेक्षा गर्नुभएको थियो । उपरोक्त कार्यक्रमहरुमा स्थानीय महानुभावहरु, श्री राधा माधव समिति नेपाल तथा डिवाईसि नेपालका स्थानीय पदाधिकारीहरुको उपस्थिति थियो ।

भक्तियोगरसावतार जगदगुरुत्तमश्री कृपालुजी महाराजको साधना र सेवाको दिव्य निर्देशन अनुशरण गर्दै नेपालका राष्ट्रिय सन्त स्वामी श्री हरिदासजीको सत्प्रेरणाबाट डिभाईन युथ क्लव नेपालले विगत ९.वर्षयता विविध सामाजिक सेवाका कार्यहरु संचालन गर्दै आएको छ । यसै सिलसिलामा देशव्यापी न्यानो वस्त्र वितरण अभियान २०७८ अन्तर्गत यसअघि नेपालका विभिन्न ५ स्थानमा वितरण गरिएकोमा विपन्न विद्यार्थी तथा परिवारलाई लक्षित यस कार्यक्रमलाई अन्यत्र पनि द्रुतगतिमा विस्तार गर्ने डिवाईसिको योजना रहेको छ ।


