सहकारी महासम्मेलन : कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान बढाइने

सहकारी महासम्मेलन : कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान बढाइने

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान बढाउने भएको छ। कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान चार प्रतिशतलाई बढाएर पाँच वर्षभित्र ६ प्रतिशतभन्दा बढी बनाउने तयारी भएको महासंघले जनाएको छ। तुलसी सुवेदीले लेख्नुभएको यो खबर अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान बढाउन कृषिलगायत उत्पादन क्षेत्रमा लागानीमा प्राथमिकता दिइएको जानकारी दिए। सहकारीलाई कृषिलगायत उत्पादन क्षेत्रमा लगानी गर्न आह्वान गरिएको उनले जानकारी दिए। ‘बिस्तारै सहकारीका लगानी उत्पादनमा केन्द्रित हँदैछ’, उनले भने। छरिएर रहेको पुँजी, श्रम, सीप र अनुभवलाई अधिकतम सदुपयोग गर्दै वस्तु तथा सेवाको उत्पादनमा जोड दिने बडालले बताए।

सहकारी विभागका अनुसार देशभर ३४ हजार ५ सय १२ संस्था स्थापना भएका छन्। संस्थामा ६३ लाख मानिस आबद्व छन्। त्यसमध्ये आधाभन्दा बढी सहकारीले बचत तथा ऋणको कारोबार गर्छन्। बचत तथा ऋण सहकारीले पैसा किनबेचबाहेक अन्य क्षेत्रमा लगानी गर्न पाउँदैनन् तर उनीहरुले आफुना सदस्यलाई कृषिलगायत उत्पादनमा सस्तो व्याजमा ऋण उपलब्ध गराउन सक्छन्।

महासंघका अध्यक्ष बडालले सदस्यलाई उद्यमशील बनाउन सहकारी क्रियाशील भएको बताउँछन्। ‘उद्यमशीलताको विकास नै हाम्रो लक्ष्य हो, अब सहकारी उत्पादनमा नगई सुखै छैन’, उनले भने। अध्यक्ष बडालले वैदेशिक व्यापारघाटा कम गर्न सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘सहकारीमार्फत कृषिजन्य उत्पादन गरी आयात घटाउन सकिन्छ, यसतर्फ हामी गम्भीर भएका छौं’, उनले भने।

सहकारी महासम्मेलनपश्चात योजनाबद्ध ढंगले सहकारीले उत्पादनमा लगानी बढाउने बडालले विश्वास व्यक्त गरे। ‘महासम्मेलनले सहकारीलाई उत्पादनमा जान अभिप्रेतिर गर्नेछ’ उनले भने। राष्ट्रसँग सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य गर्दै सहकारीको लगानी उत्पादनामा नै केन्द्रित गर्ने उनले बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले सहकारीले उत्पादनमा लगानी बढाउने बताए। ‘कृषिजन्य उत्पादन वृद्वि गर्न सहकारीकै भूमिका बढी हुन्छ’, उनले भने। सहकारीमा प्रविधिको विकास, लघु उद्योगको स्थापना, मझौला सहकारी उद्योग, कृषि उत्पादन, भण्डारण, प्रशोधन, बजारीकरण तथा कृषि सामाग्री आपूर्तिमा पहुँच विस्तार गर्न सके सहकारीमार्फत उत्पादन दोब्बर हुने उनले बताए।

सहकारीले पौने तीन खर्बको कारोबार गर्दै आएको छ। त्यसमध्ये करिब ७० प्रतिशतभन्दा बढी बचत तथा ऋणको कारोबार भइरहेको छ। महासंघका सञ्चालक चन्द्रप्रसाद ढकाल उत्पादनमूलक सहकारी आफैले उत्पादनमा लगानी बढाउनुपर्ने बताउँछन्। ‘बचत तथा ऋण सहकारीले कृषिकर्ममा कम व्याजमा ऋण दिएर उत्पादनलाई प्राथमिकता दिन सक्छन्’, उनले भने।

नेपालको संविधान २०७२ ले समेत सहकारीलाई अर्थतन्त्रको तीन खम्बामा स्वीकार गरेको छ। संविधानको प्रस्तावना, धारा ४ धारा ५१ र धारा ५० को उपधारा ३ ले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामा जोड दिएपनि आर्थिक विकासमा सहकारीले योगदान दिन सकेको छैन। सार्वजनिक, निजी क्षेत्र र सहकारीको साझेदारीमा आर्थिक विकास हुने महासंघले अपेक्षा लिएको छ।

महासम्मेलनको तयारी अन्तिम चरणमा

राष्ट्रिय सहकारी महासंघले आउँदो चैत्र २१ र २२ गते दोस्रो सहकारी महासम्मेलन आयोजना गर्ने तयारी गरेको छ। महासम्मेलनले सहकारीलाई उत्पादनमा केन्द्रीत गर्न नीति तय गर्नेछ। यसअघि प्रथम सहकारी महासम्मेलन २०७० चैत ११ देखि १३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। महासम्मेलनले दुई वर्षभित्र २९ अर्ब सेयर पुँजी थप गर्ने लक्ष्य लिएको छ। यस्तै दुई वर्षभित्र सहकारीमा १७ लाख मानिसलाई आबद्वता गराउने महासंघले लक्ष्य लिएको छ।

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नाराका साथ हुने दोस्रो सहकारी महासम्मेलनले नेपालको सहकारी अभियानको हालसम्मका उपलब्धिको समीक्षा गर्ने भएको छ। संयुक्त राष्ट्र संघले अघि सारेको सन् २०३० सम्मको दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी क्षेत्रको सहभागिता तथा योगदानमा बृद्धि गर्ने लक्ष्य भएको महासंघका वरिष्ठ उपाध्यक्ष कँडेलले बताए।

महासम्मेलनमा नेपाल, भारत, चीन, जापान, कोरिया, मलेसिया, सिंगापुर, श्रीलंका, पाकिस्तानलगायतका सहकारी अभियान्तासहित एक हजार सहकारी अगुवाहरुको सहभागिता हुनेछ।