बाढीपीडितले गरे वडा कार्यालयमा तालाबन्दी

बाढीपीडितले गरे वडा कार्यालयमा तालाबन्दी

-हेमशंकर सिंह-

राजविराज । बाढीपीडितहरुलाई दिइने सरकारी राहतमा वडा कार्यालयका कर्मचारी एवं जनप्रतिनिधिहरुले अनियमितता गरेको भन्दै राजविराज नगरपालिका ५ का वडावासीले विहिबार वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

गुनासोसहितको उजुरी लिएर तीन दिनदेखि वडा कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालय धाइरहेका वडा ५ का बाढी पीडितले बिहीबार वडा कार्यालयमा तालाबन्दी गर्दै धर्ना समेत बसेका छन् ।

तत्कालीन वडासचिव दीपेन्द्र रोशन, नवनिर्वाचित वडा सदस्यहरु पार्थो सरकार र संगीता कर्णविरुद्ध चर्को नाराबाजी गर्दै वडा कार्यालय पुगेका स्थानीयवासीले वडा अध्यक्ष समीर झालाई कार्यकक्षबाट बाहिर निकाली तालाबन्दी गरेका थिए ।

सरुवा भई गएका वडासचिव रोशन, वडासदस्यहरु सरकार र कर्णका बदमासीका कारण वास्तविक बाढीपीडितहरुलाई राहतवाट वञ्चित गराउन खोजिएको आन्दोलनरत पक्षको आरोप छ । बाढीबाट डुबान नभए पनि रोशन, सरकार र कर्णले आफ्नो र आफन्त सबैका घरहरु पूर्ण क्षति भएको लिष्टमा पारेका छन् । एउटै व्यक्तिको नाम दुईपटक, एउटै परिवारका चारजनाको नाम छुट्टा–छुट्टै र क्षति नभएका पक्की घरहरु पूर्ण क्षतिमा र भत्किएर ढलेका घरहरु सामान्य क्षतिमा पारेको स्थानीय दिपेश यादवले बताए ।

पछिल्लो वर्ष साउनको अन्तिम साता आएको बाढीले राजविराज ५ को दक्षिणी–पश्चिमी भेग पूर्ण प्रभावित बनेको थियो । बाढीले बास्तविक पीडितभन्दा पनि आफ्नो नातेदार, आसेपासे र स्वयंलाई राहत बाँडेर नांगो नृत्य देखाएको जगदीश भगतले बताए । पछिल्लोपटक बाढीबाट पुर्ण रुपमा घर क्षति भएका परिवारहरुलाई नेपाल सरकारले २५ हजारका दरले राहत उपलब्ध गराउन वडा कार्यालयमा रकम पठाएको छ । पूर्ण क्षति भएकाहरुको नाम सार्वजनिक भएपछि विवाद चुलिएको छ । राहतका लागि तत्काल खटिएको टोलीले सिफारिस गरेको परिवारको सुचिमा बास्तविक बाढीपीडितहरुको नाम काटेर कर्मचारी र जनप्रतिनिधिहरुले आफ्नो र नातेदारको नाम समावेश गरेको आन्दोलनरत मन्जु झाको आरोप छ ।

पछिल्लो बाढीले वडा ५ को बजरंग टोल र इटाभट्टा क्षेत्र पूर्ण रुपमा डुबानमा परेपनि बाढीप्रभावित मध्ये अधिकांशको नाम राहत पाउने सुचिमा नरहेको अजीत ठाकुरले गुनासो गरे । उनीहरुले बाढीपीडितहरुको नामावलीमाथि आवश्यक छानविन हुनुपर्ने, अनियमितता गर्ने दोषी कर्मचारी तथा पदाधिकारीहरु माथि कारवाही गरिनुपर्ने, बास्तविक पीडितहरुलाई राहत बाँडिनुपर्ने, सरकारी राहतको दुरुपयोग रोकिनुपर्ने जस्ता मागहरु अघि सारेका छन् । आफुहरुको माग पुरा नभए तालाबन्दी जारी राखी सशक्त आन्दोलन गर्ने चेतावनी समेत आन्दोलनकारीहरुले दिएका छन् ।

स्थानीय तहको चुनावअघि नै तत्कालिन वडासचिवले गरेको सिफारिशका नामहरु गल्ती भएको स्विकार गर्दै वडा अध्यक्ष झाले समेत सच्याउनुपर्ने बताए । पूर्ण क्षतिमा राहत लिन खोज्ने वडा सदस्यहरुको घरमा पानी पसे पनि घरहरु क्षति नभएको भन्दै अध्यक्ष झाले बाढीपछि घरहरु हेर्नै नगएकोले वास्तविकता थाहा नभएको बताए । उनले थुप्रै बाढी प्रभावितहरुको नामावली छुटेको र क्षति नभएकाहरुको नाम पूर्ण क्षतिमा परेको स्विकारेका छन् । -घटना र विचारबाट