चैत २९ देखि नयाँ आईजीपी को बन्ला ?

चैत २९ देखि नयाँ आईजीपी को बन्ला ?

काठमाडौं । आउँदो २९ चैत नेपाल प्रहरीमा प्रहरी महानिरीक्षकसहित १५ एआईजीले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने भएपछि भावी आईजीपीको चर्चा सुरु भएको छ ।

नेपाल प्रहरीमा यसअघि देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण अवसर पाएका आईजीपी प्रकाश अर्यालसहित सबै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र केही प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूले अवकाश पाउन लागेका हुन् । अवकाशकै मुखमा दुई एआईजी माधव नेपाल र रणबहादुर चन्द बिदामा बसेका छन् भने अन्य एआईजीहरू खटाइएकै स्थानमा कार्यरत छन् ।

चैत २९ देखि नयाँ आईजीपीले प्रहरी संगठनको नेतृत्व गर्ने भएकाले प्रतिस्पर्धी डीआईजी सर्वेन्द्र खनाल र पुष्कर कार्कीलाई चर्चामा ल्याइएको छ । त्यसअघि नै प्रहरी महानिरीक्षक अर्याल बिदामा बसेर नयाँ हुने आईजीपीलाई काम गर्न सहज बनाउनुपर्ने भए पनि अर्याल स्वयं दौडधूपमा लागेका छन् । परम्पराअनुसार २९ फागुनदेखि नै अर्याल बिदामा बस्नुपर्ने थियो । प्रहरी नियमावलीअनुसार २९ चैत २०४४ बाट प्रहरी सेवामा प्रवेश गरेका सबै अधिकृतहरू ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन् ।

एआईजीहरू जयबहादुर चन्द, बमबहादुर भण्डारी, रणबहादुर चन्द, कमलसिंह बम, माधव नेपाल, हेमन्त पाल, पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, केशरीराज घिमिरे, माधव जोशी, विजयलाल कायस्थ, मधु पुडासैनी, पंकज श्रेष्ठ, मिङ्मार लामा, विजयराज भट्ट २९ चैतपछि प्रहरी सेवामा रहने छैनन् । त्यसैगरी, डीआईजीहरू भोगबहादुर थापा, गणेश केसी, केदारमानसिंह भण्डारी, रमेश भट्टराई, पुष्पचन्द्र रञ्जित, सुदीप आचार्य, पुष्कलराज रेग्मी, सुवोध घिमिरेले अवकाश पाउँदैछन् । यसअघि २९ चैत २०४४ सालमा सेवा प्रवेश गरेका कृष्णप्रसाद गौतम, बलराम शर्मा पौडेल, विष्णुहरि गौतमले केही दिनअघि एसएसपीबाट अवकाश पाइसकेका छन् । एक वर्षअघि सोही समूहका यादवराज खनाल र लव विष्टले अवकाश पाइसकेका थिए ।

खाली रहेको दरबन्दीमा पनि समयमा बढुवा नहुँदा उच्च अधिकारीको वृत्तिविकासमा समस्या हुने देखिएको छ । यसले गर्दा उच्च प्रहरी अधिकारीहरूमा समेत निराशा छाएको छ । २९ चैतमै नेपाल प्रहरीका २६औं आईजीपीको रूपमा २९ माघ २०४६ मा सेवा प्रवेश गरेको समूहले कार्यभार सम्हाल्ने मौका पाउँदै छ । डीआईजी सर्वेन्द्र खनाल र पुष्कर कार्की आईजीपीको प्रमुख प्रतिस्पर्धामा छन् भने त्यो भन्दा अघि ३० असार २०४५ र १ फागुन २०४५ मा सेवा प्रवेश गरेका क्रमशः उत्तम कार्की र रमेश खरेलले पनि २६आैँ आईजीपीको प्रतिस्पर्धामा रहेको आफैंले बताउने गरेका छन् । पछिल्लोपटक एसएसपीबाट बढुवा हुँदा सर्वेन्द्र खानल, रमेश खरेल, पुष्कर कार्की र उत्तम कार्कीलाई एकैसाथ बढुवा गरिएको थियो भने सिनियारिटीमा खनाल देखिएका छन् । यसपटक डीआईजीको रिक्त दरबन्दीमा बढुवा हुँदा एकैपटक तीनवटा ब्याचबाट बढुवा हुन सक्छन् । २९ चैतपछि बढुवाको निर्णय हुने हो भने १२ जना एसएसपीले डीआईजी हुने अवसर पाउनेछन् । त्यस्तै, १७ जना एसपीहरू एसएसपी हुनेछन्, ३० डीएसपीहरू एसपीमा बढुवा हुनेछन् । अघिल्लो पटक डीआईजी हुनबाट छुटेका दिनेश अमात्य, केदार रिजाल, पिताम्बर अधिकारी डीआइजीमा बढुवा हुनेछन् ।

एसपीबाट एसएसपीमा बढुवाका लागि सहकुलबहादुर थापा, अरुणकुमार बिसी, विभुतिराज पाण्डे, दिलीपबहादुर बस्नेत, राजेन्द्रप्रसाद चौधरी, प्रकाश अधिकारी, राजेन्द्र ढकाल, शरदकुमार खत्री, पूजा सिंह, सुशीलकुमार यादव, नरबहादुर खत्री, हरिराज वाग्ले, प्रदीपकुमार श्रेष्ठ, वीरेन्द्रकुमार बस्याल, शेखर कोइराला, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, भोजजंग शाह, मोहनकुमार आचार्य, देवबहादुर बोगटी, नलप्रसाद उपाध्याय, मुकुन्दराज आचार्य र विक्रमबहादुर चन्द बढुवा हुनेछन् ।

डीएसपीहरू दीपकराज खरेल, सोमेन्द्रसिंह राठौर, आभूषण तिम्सिना, भुपेन्द्र खत्री, शेखर खनाल, गंगा पन्त, प्रवीण पोखरेल, विनोद सिलवाल, दीपशमशेर जबरा, रवीन्द्र रेग्मी, बेलबहादुर पाण्डे, ओम अधिकारी, विश्व अधिकारी, रमेशकुमार बस्नेत, तारादेवी थापा, बसन्त रजौरे, भीमबहादुर दाहाल, सानुराम भट्टराई, अभिनारायण काफ्ले, मुकुन्द मरासिनी र रविकुमार पौडेल एसपी बढुवाका बलिया दाबेदार हुन् । उनीहरूसँगै हीराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, केदार खनाल, दिनेशराज मैनाली, वीरबहादुर ओली, गोपालचन्द्र भट्टराई, गोविन्द अधिकारी, सविन प्रधानलगायतको बढुवा हुनेछ । तरुण साप्ताहिकले खबर प्रकाशित गरेकाे छ ।