काँग्रेसको सभापति पदमा देउवा पुनः निर्वाचित, अन्य पदाधिकारीको मतगणना सुरु हुँदै

काँग्रेसको सभापति पदमा देउवा पुनः निर्वाचित, अन्य पदाधिकारीको मतगणना सुरु हुँदै

काठमाडौं, २९ मंसिर।नेपाली काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा पुनः निर्वाचित हुनुभएको छ ।

राति आएको मतपरिणाम अनुसार देउवाले २७ सय ३३ मत ल्याउनुभयो । यस्तै उहाँका प्रतिस्पर्धी डाक्टर शेखर कोइरालाले १८ सय ५५ मत प्राप्त गर्नुभएको काँग्रेसको केन्द्रिय निर्वाचन समितिका सदस्य सीताराम केसीले सीआइएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार ३३ मत भने बदर भएको छ । पहिलो चरणमा सभापतिका उम्मेद्वार ५ जना मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा देउवा र कोइरालाबीच फेरि मतदानमा भएको हो । दोस्रो चरणको मतदानमा चार हजार ६ सय २३ मत खसेको निर्वाचन समितिले जनाएको छ । सभापतिको परिणाम आइसकेकाले अब अन्य पदाधिकारी र केन्द्रीय सदस्यको गणना सुरु हुने भएको छ ।

अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ । आजै दिउँसोदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन समिति सदस्य केसीले बताउनुभयो । सकेसम्म छिटो मतपरिणाम सार्वजनिक गर्ने गरि गणनाको काम सुरु हुने उहाँको भनाइ छ ।