कर्णाली।जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आजदेखि एमबीबीएसको औपचारिक रुपमा शुभारम्भ गरिँदै ।
एमबीबीएस लगायत शैक्षिक कार्यक्रमको आज राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्ने प्रतिष्ठानले बताएको छ । एमबीबीएस कार्यक्रम शुभारम्भका लागि बिहान ११ बजे हेलिकोप्टरबाट राष्ट्रपति भण्डारी जुम्ला पुग्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार राष्ट्रपतिले ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ । राष्ट्रपति जुम्ला आउने भएपछि कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ जुम्ला पुगिसक्नुभएको छ ।
बिहान ११ देखि सवा ११ बजेसम्म एकेडेमिक ब्लकको शिलान्यास हुनेछ । त्यसलगत्तै एमबीबीएस लगायतको शैक्षिक कार्यक्रमको शिलापत्र अनावरण हुने रजिस्ट्रार महतले बताउनुभयो । प्रतिष्ठानको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा अगाडि बढाउनका लागि आवश्यक जग्गा उपलब्ध गराउने ५१ जनालाई कदरपत्र प्रदान गरिनेछ । प्रतिष्ठान स्थापनाकालदेखिका पूर्वपदाधिकारीलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका सूचना अधिकारी रमेश भट्टराईले बताउनुभयो । एमबीबीएसमा १९, बीपीएचमा ८, बीएनएसमा १६, बीफार्मामा ८ र बीएमएसमा ११ विद्यार्थी भर्ना भएका छन् । छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ ।