० संघीय समाजवादी फोरम सरकारमा जान ढिलो हुनुको कारण के हो ?
– केपी ओली र प्रचण्ड विगतमा हामीसँग गरेको वार्तामा अडिग हुनु भएन । उहाँहरूमा केही बेइमानी देखियो । यसकारण हामी सरकारमा जाने कुरामा अन्योलता देखिएको छ ।
० के कुरामा अडिन सक्नुभएन ?
– सरकार र संघीय समाजवादी फोरमबीच भएको वार्तामा संविधान संशोधनबारे लिखित सहमति गर्ने कुरा थियो । सुरुमा यसमा उहाँहरू पनि सहमत हुनुभएको थियो । तर अहिले उहाँहरू पछाडि फर्किनु भएको जस्तो देखिएको छ । लिखित सहमति गर्ने मनशाय उहाँहरूमा देखिएको छैन । जबसम्म संविधान संशोधनमा केपी ओली र प्रचण्डजीले लिखित सहमति गर्नु हुँदैन, त्यसबेलासम्म फोरम सरकारमा जाने प्रक्रिया अघि बढ्दैन । लिखित सहमति नभएसम्म हामी सरकारमा जानुको कुनै तुक हुन्न ।
० लिखित सहमति नभएकै कारण सरकारमा जान रोकिएको हो त ?
– यसमा अरु कुनै कारण नै छैन । लिखित सहमति नभएकै कारण फोरम सरकारमा सहभागी नभएको हो ।
० प्रधानमन्त्री के भन्नु हुन्छ ?
– यसमा उहाँहरू हिचकिचाउनु भएको छ । उहाँहरूले प्रस्ट भन्नुभएको छैन । लिखित सहमति गर्दैनौ पनि भन्नुभएको छैन, प्रधानमन्त्री षड्यन्त्रमा विश्वास गर्नुहुन्छ । त्यो सूचना हामीले पाएका छौं ।
० त्यसो भए तपाईहरू सरकारमा जाने बाटो बन्द भएको हो त ?
– कुराकानी र वार्ता अहिले पनि भइरहेको छ । फोनमा संवाद जारी छ । कुरा मिल्यो भने हामी सरकारमा जान्छाैँ । अध्यक्षले कुरा गरिरहनु भएको छ ।
० फोरमले यसअघि नै सरकारमा जाने भनेर औपचारिक निर्णय गरिसकेको छ नि ?
– हामीले निर्णय गर्नुको कारण छ । केपी ओली र प्रचण्डजीले हामीसँग लिखित सहमती गर्छौं भनेर पूर्ण रूपमा प्रतिबद्धता जनाउनु भएको थियो । तपाईहरू पार्टीबाट निर्णय गर्नुहोस्, हामी लिखित सहमति गर्न तयार छौं भन्नु भएको थियो । उहाँहरूले लिखित सहमति गर्नु भएन भने भोलि हामी फेरि अर्को निर्णय गर्न सक्छांै । लिखित सहमति नगरे सरकारमा जान्नौं भनी निर्णय गरेका हौं । संविधान संशोधन र मन्त्रालयको कुरामा मिल्यो भने हामी सरकारमा जान्छांै । विना लिखित सहमति सरकारमा जाने निर्णय पार्टीले गरेको छैन ।
० लिखित सहमति गर्न प्रचण्ड तयार नभएका हुन् कि प्रधानमन्त्री केपी ओली पछि हटेका हुन् ?
– दुई नेताकै कुरा गर्नुहोस् । दुवैले लिखित सहमति गर्छौ भन्नुभएको थियो, तर अझै गर्नुभएको छैन । गर्छु, गर्छु भन्ने, तर कहिले गर्ने ? केपी ओली दुई तिहाइको प्रधानमन्त्री बन्नुभयो । हामीसँग मत लिनुभयो । राष्ट्रपतिमा पनि उहाँहरूले हामीसँग भोट माग्नुभयो । हामीले भोट दियौं । हामीले मत नदिए पनि उहाँहरू जित्नुहुन्थ्यो होला, तर दुई तिहाइ त पुग्दैनथ्यो । हाम्रो मतले केपी ओली दुई तिहाइको प्रधानमन्त्री बन्नुभएको छ । हाम्रो मतको कदर गर्नु भएन भने उहाँहरूले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । भोलि उहाँहरूलाई कसैले विश्वास गर्दैनन् । राजनीतिमा विश्वास भन्ने ठूला कुरा हो । विश्वासमै संसार चलेको छ । भोलि उहाँहरूले विश्वास चुकाउनुभयो भने ठूलो राजनीतिक दुर्घटना हुन सक्छ ।
० तपाईहरू कहिलेसम्म पर्खनु हुन्छ त ?
– हामीले संवाद गरिरहेका छौं । कुराकानी मिल्यो भने जतिबेला पनि सरकारमा जान सक्छौं । त्यसैले यस विषयमा अहिले नै डेट नतोकौं ।
० भनेपछि केपी ओली र प्रचण्डले धोका दिन खोज्दैछन् भन्ने महसुस गर्नुभएको हो ?
– हो, हामीलाई त्यस्तो महसुुस भएको छ । हामीले प्रस्ट भनेका छौं, लिखित सहमति नगरी हामी सरकारमा जान्नौं भनेर ।
० उहाँहरूको नियत के हो त ?
– लिखित सहमति गर्दैनाैँ भन्नु भएको त छैन, तर लिखित सहमति गर्न हिचकिचाइरहनु भएको छ ।
० तपाईहरूले कुुन कुन मन्त्रालय माग्नु भएको छ ?
– उहाँहरूले हामीलाई सहरी विकास खानेपानी र स्वास्थ्य मन्त्रालय दिन्छौं भन्नुभएको थियो । एउटा राज्यमन्त्री दिन्छौं भन्नुभएको थियो । दुईवटा मन्त्री र एउटा राज्यमन्त्री दिने उहाँहरूको मनशाय थियो । तर त्यसमा पनि उहाँहरूले धोका दिनुभयो । कुरा एकातिर, काम अर्कोतिर गर्नुभयो । सहरी विकास र खानेपानी मन्त्रालय दिने कुरा थियो, तर उहाँहरूले खानेपानी मन्त्रालयलाई अलग गर्नुभयो । अहिले सहरी विकास र खानेपानी मन्त्रालय अलग अलग भएका छन् । त्यो पनि धोका हो । यसकारण उहाँहरूप्रति शंका उत्पन्न भएको छ । शंका मेटाउने काम ओली र प्रचण्डको हो । हामी उहाँहरूको पर्खाइमा छांै ।
० सरकारमा जाने फोरमको निर्णय हतारमा भएको भन्ने लाग्यो ?
– निर्णय गर्न हतार थिएन । संविधान संशोधन गर्ने लिखित सहमति आयो भने मात्र सकारमा जाने भनी निर्णय भएको हो । मैले पहिले पनि भनें, संविधान संशोधन नगरीकनै सरकारमा जाने निर्णय पार्टीले गरेको छैन ।
० तपाईहरूले भौतिक पूर्वाधार र परराष्ट्र मन्त्रालय माग्नुभएको थियो, होइन र ?
– हामीले परराष्ट्र मागेका होइनौं । परराष्ट्र मन्त्रालय दिन उहाँहरू नै राजी हुनुहुन्थ्यो । उहाँहरूकोे भनाइ थियो, ‘उपेन्द्रजी तपाई परराष्ट्रमा जानुहोस् । परराष्ट्रमा तपाई अनुभवी हुनुहुन्छ । परराष्ट्रमन्त्रीमा तपाईले राम्रो काम गर्नुभएको थियो ।’ त्यसमा उपेन्द्रजीको भनाइ थियो, ‘म तपाईहरूलाई सहयोग गर्छु । मैले लिएको अनुभव पनि भन्छु, तर हामीलाई अहिले विकास मन्त्रालय दिनुहोस् । हामीले विकास गर्न चाहेका छौं । देश अहिले धेरै पिछडिएको छ ।’ पिछडिएको देशलाई अघि बढाउन विकासको मन्त्रालय दिनुहोस् भनेर हामीले मागेका हौं ।
० तपाईहरूले भौतिक पूर्वाधार मन्त्रालय पनि माग्नुभएको थियो नि ?
– त्यो बेलामा हामीले भौतिक पूर्वाधार मन्त्रालय मागेका थियौं । तर, पछि हामीले त्यसमा अडान राखेनौं ।
० के भन्नु भयो त ?
– उहाँहरूले सहरी विकास खानेपानी र स्वास्थ्य मन्त्रालय दिने र एउटा राज्यमन्त्री दिने कुरा गर्नुभएको थियो । एउटा विकासको मन्त्रालय, अर्को सेवाको मन्त्रालय लिनुहोस् भनेर उहाँहरूले भन्नुभएको थियो । यसमा हामीहरू करिब करिब तयार नै थियौं । विकासको मन्त्रालय सहरी विकास र सेवाको मन्त्रालय स्वास्थ्य मन्त्रालय थियो । त्यसमा पनि उहाँहरूले धोका दिनुभयो । खानेपानी मन्त्रालयलाई टुक्र्याउनु भयो । उहाँहरूले हामीलाई दोहोरो धोका दिनुभएको छ । पहिलो, लिखित सहमति गर्न अझै तयार हुनुभएको छैन । अर्को, खानेपानी मन्त्रालयलाई सहरी विकास मन्त्रालयबाट हटाउनु भयो । यसकारण उहाँहरूमा दोहोरो चरित्र देखियो । दोहोरो चरित्र सुधार गर्नुभयो भने हामीहरू सरकारमा जान्छांै, गर्नुभएन भने जान्नौं ।
० तर उहाँहरूले स्वास्थ्य मन्त्रालयमा पनि राज्यमन्त्री राख्नुभएको छ नि ?
– उहाँहरूले राज्यमन्त्री राख्नुभएको छ, त्यो उहाँहरूको कुरा हो । तर खानेपानी मन्त्रालयलाई उहाँहरूले हटाउनु हुन्नथ्यो ।
० सरकारमा सहभागी हुने भएमा पार्टीबाट को को जानु हुन्छ ?
– सरकारमा जाने भएपछि पार्टीले नेताहरूको नाम तयार गर्छ । सरकारमा जाने व्यक्तिहरूको टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवजीलाई पार्टीले दिएको छ । सरकारमा को जाने, को नजाने यसको निर्णय पार्टी अध्यक्षले गर्नुहुन्छ । यसमा कुनै विवाद छैन ।
० तपाई सरकारमा जानु हुन्छ ?
– सरकारमा जाने मेरो पनि इच्छा छ । तर पार्टीले निर्णय गर्नुपर्छ । पार्टीको निर्णय नै सर्वोपरी हुन्छ । पार्टीले जे निर्णय गर्छ, त्यो मान्नुपर्ने हुन्छ ।
० राजेन्द्र श्रेष्ठ मन्त्री बन्नु हुन्छ कि हुन्न ?
– उहाँ सरकारमा सहभागी हुने कि नहुने भन्ने निर्णय पार्टी अध्यक्ष उपेन्द्र यादवले गर्नुहुन्छ । हामीले उहाँलाई नै जिम्मा दिएका छौं । यसबारे मैले केही भन्नुपर्छ जस्तो लाग्दैन ।
० राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने विषयमा पार्टीभित्र विवाद भएको छ, होइन र ?
– यसबारेमा कुनै विवाद छैन ।
० तपाई के भन्नु हुन्छ ?
– उहाँ मन्त्री हुनुभएमा स्वागत छ । बन्नु भएन भने पनि किन हुनु भएन भन्दैनौं । यसबारेमा निर्णय गर्न हामीले अध्यक्ष उपेन्द्र यादवलाई अधिकार दिइसकेका छौं । उहाँले जसलाई पठाउनुहुन्छ हामी स्वीकार्न तयार छौं ।
० काठमाडौंमा संघीय फोरमको दुई हजार पनि भोट नाघेन, त्यसैले राजेन्द्र श्रेष्ठलाई किन सरकारमा पठाउने भन्ने कुरा पार्टीको बैठकमै उठेको हो, होइन र ?
– त्यस्तो केही कुरा आएको होइन । बैठकमा त्यस्तो कुरा कसैले राखेको होइन । कसैले नभनेको कुरा तपाईले कसरी सुन्नुभयो ? मलाई थाहा छैन । आज दुई हजार भोट नआएको ठाउँमा भोलि बीस हजार भोट आउन पनि सक्छ । बीस हजार भोट आएको ठाउँमा दुई हजार भोट पनि आउन सक्छ । हारजित एउटा प्रक्रिया हो । २०६४ सालको चुनावमा माओवादीको त्यति धेरै भोट आएको थियो । २०७० सालको चुनावमा त्यो भोट घट्यो । २०७० सालको निर्वाचनमा कांग्रेसको भोट बढेको थियो । अहिले काग्रेसको भोट घटेको छ । एमालेको भोट बढेको छ ।
हाम्रो कुरा गर्ने हो भने २०६४ सालको निर्वाचनमा व्यापक भोट आएको थियो । २०७० सालमा भोट घट्यो, २०७४ मा भोट बढ्यो । त्यसैले राजनीतिमा हारजित, घटबढ एउटा प्रक्रिया हो । आज वाम गठबन्धन सरकारमा छ । हिजो कांग्रेसको सरकार थियो । भोलि हाम्रो सरकार हुन सक्छ । मैले भन्न खोजेको कुरा के हो भने सरकारमा कसलाई पठाउने भन्नेबारेमा पार्टीमा कुनै विवाद छैन । राजेन्द्र श्रेष्ठ पार्टीको सहअध्यक्ष हुनुहुन्छ । उहाँलाई हामी सम्मान गर्छौं । पार्टीमा हामी सबै एक छौं । एक भएर पार्टीलाई अगाडि बढाउनु छ । पहाड, मधेस, हिमाललाई जोडेर पार्टीलाई शक्तिशाली बनाउनु छ । पार्टीलाई अझै ठूलो बनाउन हामी लागिपरेका छांै । त्यो सोचका साथ हामी अघि बढिरहेका छौं ।
० संघीय फोरमका सचिव अजम्बर काङवाङ माओवादी केन्द्रमा प्रवेश गरे नि ?
– उहाँ भविष्यमा आफ्नो सिट सुरक्षित होस् भनेर व्यक्तिगत सपनाका लागि माओवादी केन्द्रमा जानुभएको छ । देश र जनताप्रति माया, ममता राखेर उहाँ माओवादीमा जानुभएको होइन । जुन पार्टी पहाड, मधेस, हिमाललाई जोडेर पिछडिएको वर्गको उत्थानका लागि लडेको छ, त्यो पार्टीलाई छाडेर उहाँ माओवादीमा जानुभएको छ । हिजो माओवादीले त्यत्रो मान्छे मारेको थियो, अहिले त्यो पार्टी एमालेमा मिल्दैछ । त्यस्तो पार्टीमा उहाँ जानु भयो ।
० राजपा पनि सरकारमा जान लागेको हो ?
– राजपाको विषयमा मैले बोल्नु उचित हुँदैन । त्यो अर्को पार्टीको कुरा हो ।
० तर फोरमले नै राजपालाई सरकारमा नलैजान खोजेको भन्ने कुरा बाहिर आएको छ नि ?
– यो सरासर झुट हो । राजपा सरकारमा आउँछ भने हामी स्वागत गर्छांै । राजपासँग हाम्रो कुनै झगडा छैन । विमति पनि छैन ।
० अहिले तपाईहरू सत्तापक्षीय हो कि प्रतिपक्ष ?
– अहिले हामी प्रतिपक्षमा छांै । तर सत्ता पक्षलाई मतदान गरेका हौं ।
० संसदमा तपाईहरू सत्तपक्षीय बेञ्चमा बस्नु हुन्छ कि विपक्षी बेञ्चमा ?
– हामी विपक्षी बेञ्चमा छौं ।
० सरकारलाई भोट दिने, तर प्रतिपक्षी हुने, यस्तो हुन्छ र ?
– भोट दिने त एउटा प्रक्रिया हो । हामी विपक्षमा बस्छौ । दुई नम्बर प्रदेशमा पनि एमाले, माओवादीले हामीलाई भोट दिएका छन्, तर विपक्षमा बसेका छन् नि ।
० ओली सरकारलाई समर्थन गर्नुभएको होइन ?
– हो, यो सरकारलाई हामीले समर्थन गरेका छौं र विश्वासको मत पनि दिएका छौं । तर हामी अहिले प्रतिपक्षमा छौं । भोलि कुरा मिल्यो भने हामी सरकारमा जान्छौं । कुरा मिलेन भने जान्नौं । संविधान संशोधन हाम्रो मूल मन्त्र हो । हामी सरकारमा संविधान संशोधन गर्न जान्छौं । विना काम हामी किन सरकारमा जाने ?
० ओली सरकार बनेको एक महिना पूरा भएको छ । यो एक महिनाको प्रारम्भिक अवधिलाई कसरी हेर्नुभएको छ ?
– यो मामिलामा केही कमेन्ट नगरौं । सय दिन हेरौं । सय दिनपछि कमेन्ट गर्छौं ।
० तर, पनि लक्षण त देख्नु भएको होला नि ?
– सरकारले मिठामिठा कुरा गरिरहेको छ, काम गरेको देखिएको छैन । काम नदेखी कसरी भन्ने ? कस्तो काम गर्छ सय दिनसम्म हेर्छौं । अहिले यस विषयमा केही बोल्दिनँ ।
० फरक प्रसंग, एमाले र माओवादी मिल्छन्, के लाग्छ ?
– दुइ पार्टी मिलून् भन्ने मेरो शुभकामना छ । देशका लागि पनि पार्टी मिल्नु पर्छ । हाम्रो चाहना पनि यही हो । – तरुण साप्ताहिकबाट