भारत भ्रमणअघि एकता नहुने

भारत भ्रमणअघि एकता नहुने

काठमाडौं । एकमना सरकारको प्रधानमन्त्रीका रुपमा भारत भ्रमण गर्ने प्रधानमन्त्री खड्ग ओलीको रणनीति असफल हुने भएको छ । भारतले यही चैतको अन्तिम साताका लागि भ्रमणमा बोलाए पछि प्रधानमन्त्री ओलीले त्यस अघि नै माओवादीसँग एकीकरण गर्ने प्रस्ताव राखेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बोलाएरै उनले गठवन्धन सरकारको नभएर  एकमना सरकारको प्रधानमन्त्रीका रुपमा आँफू  भारत भ्रमणमा जाने बताएका थिए । यसका लागि तत्कालै पार्टी एकीकरण गर्नु पर्ने उनको आग्रह थियो ।  माओवादीसँग एकीकरण नभएसम्म आफ्नो पद जतिबेला पनि धरापमा पर्ने भयले प्रधानमन्त्री ओली आक्रान्त छन् ।  जसरी विगतमा प्रधानसेनाति प्रकरणमा हात झिकेर एमालेले प्रचण्डलाई भुँइमा बजारेको थियो त्यसको पालो अब माओवादीले फेर्ने  सूचना प्राप्त भएपछि ओलीले पार्टी एकीकरणका लागि प्रचण्डलाई दबाव दिनु सुरु गरेका हुन् । डेढ महिना अघि सम्म  माओवादी केन्द्र पार्टी एकीकरणका लागि हतारमा थियो भने एमालेले टार्दै लगेको थियो ।  त्यतिबेला एमालले  सरकार गठन गर्नु अघि नै पार्टी एकीकरण गर्ने माओवादीको प्रस्तावलाई अस्वीकार गरेको थियो तर यतिबेला माओवादीले भारत भ्रमण अघि नै पार्टी एकीकरण गर्नुपर्ने  एमालेको प्रस्तवलाई अस्वीकार गरेको छ ।

यस विषयमा छलपल गर्न गत शनिबार प्रचण्डले आफ्नो पार्टीका उपल्लो स्तरका नेताहरुको बैठक राखेका थिए । करिब चार हजार केन्द्रीय सदस्य भएको माओवादी केन्द्रले पार्टीभित्रको प्राविधिक समस्या सुल्झाउन समय लाग्ने भन्दै आलटालको नीति लिएको छ । प्रधानमन्त्री ओली चैत २५ गते भारत जाने र २७ गते फर्कने कार्यक्रम  करिव करिव तय भएको छ । एमाले अध्यक्षसमेत रहेका ओलीले माओवादी केन्द्रका नेताहरूसामु आफ्नो भारत भ्रमणअघि नै पार्टी एकता गर्ने प्रस्ताव राखेका थिए । त्यसको पुष्टि गर्दै माओवादीका एक नेताले भने, ‘कुरा आएको छ, तर भ्याइन्छ कि भ्याइँदैन भन्न सकिन्न, भ्याउने सम्भावना कम देख्छु ।’ यसअघि नेताहरूले कम्युनिस्ट पार्टी स्थापना दिवसका दिन वैशाख १० गते एकता घोषणा गर्ने बताएका थिए ।

एमाले र माओवादीले साझा घोषणापत्र र उम्मेदवार बनाएर प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लडेका थिए । राज्यका प्रमुख पदहरूमा भागबन्डा गरेका दुई दलले केन्द्रका साथै ६ वटा प्रदेशमा संयुक्त सरकार बनाएका छन् । गत फागुन ७ गते सातबुँदे सहमति गरेका एमाले र माओवादीले एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ र निर्देशक सिद्धान्त ‘माक्र्सवाद–लेनिनवाद’ राख्ने उल्लेख गरेका थिए । त्यसपछि संगठनात्मक संरचना र सैद्धान्तिक राजनीतिक विषयमा गृहकार्य गर्न कार्यदल पनि बन्यो । कार्यदलका धेरै सदस्य मन्त्री बनेपछि एकतासम्बन्धी छलफलले प्राथमिकता पाएको छैन । यद्यपि नेताहरूले कार्यदलमा छलफल अन्तिम चरणमा पुगेको र केही दिनमा शीर्ष नेताहरू रहेको पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन बुझाउने दाबी गरेका छन् ।

-तरुण साप्ताहिकबाट