काठमाडौं । प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको मर्यादाक्रमको विवादमा अल्झेको छ । मर्यादाक्रमको विषयलाई लिएर केन्द्रीय समितिको शनिबारको बैठकमा केहीबेर निकै तनाव उत्पन्न भएको थियो ।
करिब एक वर्ष पार्टीको कार्यवाहक सभापतिसमेत भइसकेका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई कुन मर्यादाक्रममा राख्ने ? भन्ने पुरानो विवाद शनिबार बल्झेको हो । १३औं महाधिवेशनलगत्तै कृष्णप्रसाद सिटौलाले केन्द्रीय कार्यालयका कर्मचारी प्रयोग गरी मोटामोटी मर्यादाक्रम तय गरेका थिए । यो मर्यादाक्रमप्रति अरु नेता मौन रहे पनि पूर्वकार्यबाहक सभापति श्रेष्ठले असहमति प्रकट गर्दै आएका थिए । सभापतिपछिको मर्यादाक्रमको हैसियत भएका श्रेष्ठलाई आठौं मर्यादाक्रममा राखिएको थियो । यो असन्तुष्टिस्वरूप उनी बैठकमा भाग लिन जाँदा सबैभन्दा पछाडि बस्ने र माइन्युटमा हस्ताक्षर नगरी बाहिरिने गर्दथे ।
श्रेष्ठको यो असन्तुष्टिपछि मर्यादाक्रम निर्धारण गर्न केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा कमिटी गठन गरिएको थियो । उक्त कमिटीको सुझावअनुसार शनिबारको बैठकमा पूर्वकार्यबाहक सभापति श्रेष्ठको मर्यादाक्रम पदाधीकारीभन्दा तल र केन्द्रीय सदस्यमध्ये सबैभन्दा माथि राखियो । कुर्सीको व्यवस्था पनि त्यसरी नै गरियो । तर सिटौला समूहका नेताहरू तत्कालै पाखुरा सुर्केर विरोधमा उत्रेका थिए । संसद्मा प्रतिपक्षले निहुँ खोजेर हंगामा गरे जस्तै सिटौला समूह हंगामा गर्दै उठ्यो । विगतमा सिटौलाले गोपालमानको भन्दा आफ्नो मर्यादाक्रम माथि राखेका थिए ।
नेपाली कांग्रेसमा मर्यादाक्रमको निर्धारण गर्दा वर्तमान पदलाई पहिलो प्राथमिकता र विगतको पदलाई दोस्रो प्राथमिकतामा राख्ने गरिएको छ । साथै एकपटक पार्टी सभापति भइसकेको नेताको मर्यादाक्रम वर्तमान सभापतिलगत्तै राखिने परम्परा छ । यो परम्पराका हिसाबले सभापति देउवापछि लगत्तै गोपालमानको नाम हुनुपर्ने थियो । तर पूर्वमहामन्त्रीभन्दा पनि उनको नाम तल राखेर गोपालमानको निकै ठूलो मानमर्दन गर्न खोजिएको थियो । यो गल्ती सच्याइएको छ । तर गल्ती सच्याउन नदिन उत्तिकै दबाब सुरु भएको छ ।
नेपाली कांग्रेसमा कार्यबाहक सभापति भइसकेका नेता तीनजना छन् । यसमध्ये सबैभन्दा पहिला गोपालमान करिब एक वर्ष कार्यबाहक सभापति भए, त्यसपछि रामचन्द्र पौडेल करिब दुई महिना कार्यबाहक सभापति भए । त्यसैगरी, विमलेन्द्र निधि करिब एक साता कार्यबाहक सभापति बनेका छन् । यी तीनजना पूर्वकार्यबाहक सभापतिमध्ये श्रेष्ठ सबैभन्दा सिनियर, त्यसपछि क्रमशः पौडेल र निधि हुन् ।
यसैगरी, उपसभापति भइसकेका, तर कार्यबाहक सभापति बन्ने मौका नपाएका नेता प्रकाशमान सिंह हुन् । पूर्वमहामन्त्रीमध्ये सबैभन्दा सिनियर खुमबहादुर खड्का, दोस्रोमा केबी गुरुङ र तेस्रोमा कृष्णप्रसाद सिटौला हुन् । खड्का २०५९ सालमा, गुरुङ २०६० सालमा र सिटौला २०६८ सालमा महामन्त्री बनेका हुन् । यसैगरी, पूर्वसहमहामन्त्रीहरूमा क्रमशः रामशरण महत, अर्जुननरसिंह केसी र पूर्णबहादुर खड्का हुन् । पूर्वकोषाध्यक्ष चित्रलेखा यादव मात्रै भएका कारण मर्यादाक्रमको समस्या छैन ।
अन्य मर्यादाक्रममा खासै समस्या नरहे पनि गोपालमान श्रेष्ठ र रामचन्द्र पौडेलको मर्यादाक्रमको विवाद निकै पेचिलो छ । पार्टी एकीकरणलगत्तै निर्धारण भएको प्रोटोकलमा सबैभन्दा पहिला गिरिजाप्रसाद कोइराला, त्यसपछि क्रमशः कार्यबाहक सभापति शुसील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापतिहरू रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ र प्रकाशमान सिंहको नाम छ । त्यतिबेलाको प्रोटोकलमा आफ्नोभन्दा पौडेलको नाम माथि राखिएको विषयमा गोपालमानले कुरा उठाएनन् । उमेर र राजनीति दुवैमा पौडेल सिनियर भएको भन्दै त्यतिबेला गोपालमानले चित्त बुझाए, तर त्यही चित्त बुझाईले यतिबेला उनलाई सिटौलाभन्दा पनि तल राखेर मानमर्दन गर्न खोजिएको हो । २०६२ सालको कार्यबाहक सभापतिलाई २०६८ सालको महामन्त्रीको भन्दा तल्लो प्रोटोकलमा राखिँदासमेत नेपाली कांग्रेसका कोही नेताहरू बोलेका थिएनन् ।
केन्द्रीय सदस्यमा भने खासै प्रोटोकल विवाद देखिएको छैन । पदाधिकारी बन्ने अवसर नपाएका केन्द्रीय सदस्यमध्ये सबैभन्दा सिनियर बलबहादुर केसी हुन् । उनी २०४९ साल (देउवाभन्दा एक वर्षपछि) मा केन्द्रीय सदस्य बनेका हुन् । त्यसपछि नरहरि आचार्य र महेश आचार्य २०५४ सालमा, बालकृष्ण खाँण २०५६ सालमा र प्रदीप गिरि २०५७ सालमा केन्द्रीय सदस्य बनेका हुन् ।
-तरुण साप्ताहिकबाट साभार