काठमाडौं, २९ कात्तिक।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आँट नभएकाहरु एमालेको ढोका बाहिर रोईकराई बसेको टिप्पणी गर्नुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय समिति घोषणा सभामा अध्यक्ष नेपालले एमालेको ढोका बन्द गरिएपछि आफुहरुले नयाँ ढोका खोलेको भन्दै अहिले पनि आँट नभएकाहरु एमालेको ढोकामा रोईकराई बसेको टिप्पणी गर्नुभएको हो ।
उहाले आँट भएकाहरु नयाँ संगठन बनाएर अघि भएकाले आफुहरुले नयाँ बाटो रोजेको बताउनुभयो । नेपालले कृषि क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि लुटेरा प्रवृत्ति हुर्किरहेको धारणा पनि राख्नुभयो । त्यस्तै उहाले किसानको हित र कल्याण गर्नु नै आफूहरुको राजनीतिको मूल विषय भएको जिकिर गर्नुभयो । कृषिमा आधारित बस्तुको उत्पादनलाई बढावा दिन भू उपयोग नीतिको तर्जुमा गर्नु जरुरी रहेको उहाको भनाई छ ।
कार्यक्रममा अध्यक्ष नेपालले अखिल नेपाल किसान महासंघको पदाधिकारीलाई सपथ खुवाउनुभएको थियो ।