काठमाडौँ, १४ कात्तिक।जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) आजदेखि सुरु हुँदैछ ।
स्कटल्याण्डको ग्लास्गोमा सुरु हुने सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ । सम्मेलनमा सहभागित हुन नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोली त्यसतर्फ गएको छ । सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू र नागरिक समाज, व्यावसायिक क्षेत्र र सञ्चारमाध्यमका प्रतिनिधिहरूसहित हजारौँ मानिस भेला हुँदैछन् । विश्व नेताहरूको शीर्ष सम्मेलन भोलि र पर्सी हुनेछ । सम्मेलनमा जलवायुसम्बन्धी विभिन्न विषयमा छलफल हुनेछ ।
विश्वका नेताहरूले पृथ्वीलाई भविष्यमा पनि जीवनयोग्य बनाउन के कस्ता कदमहरू उठाउने छन् भन्ने आम चासोको विषय बनेको छ । कोपका लक्ष्यहरू सफलतापूर्व प्राप्त गर्न र जलवायु परिवर्तनसँग जुध्न शीर्ष नेताहरूले ठोस योजना र विश्वसनीय योजनाहरू बनाउने अपेक्षा गरिएको छ । कोपमा झण्डै २ सय राष्ट्रहरू छन् ।