लोकप्रिय मतमा कांग्रेस पहिलो, एमालेको भन्दा ५ लाख बढी

लोकप्रिय मतमा कांग्रेस पहिलो, एमालेको भन्दा ५ लाख बढी

काठमाडौं, ११ चैत। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्ररी हार बेहोरेको विषयमा समीक्षामा जुटिरहेका कांग्रेस नेता तथा कार्यकर्तालाई राहत दिने खबर छ-प्रत्यक्षतर्फको लोकप्रिय मतका आधारमा कांग्रेस पहिलो पार्टी भएको छ । सिट संख्याका आधारमा संसदमा ठूलो अन्तरले पछाडि परेको कांग्रेसले लोकप्रिय मतमा भने एमालेलाई उछिनेको हो। याे खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

निर्वाचन आयोगले तयार पारेको निर्वाचन प्रतिवेदनअनुसार प्रत्यक्षतर्फ कांग्रेसले ३५ दशमलव ७५ प्रतिशत मत ल्याएको हो। संसदमा पहिलो पार्टी बनेको एमालेको मत ३० दशमवल ६८ प्रतिशत मात्र छ। कांग्रेस ५ प्रतिशतले एमालेभन्दा अगाडि देखिएको छ। संसद्मा एमालेले ८० सिट जित्दा कांग्रेसले २३ सिट मात्रै पाएको छ।

कुल १ करोड ५४ लाख ७९ हजार ३८ मतदातामध्ये ६८.६७ प्रतिशत मतदान भएको थियो। खसेको मतको प्रतिशत गणनाका बेला यकिन भएको मतपत्रका आधारमा निकालिएको हो। प्रत्यक्षतर्फ खसेको १ करोड ५ लाख ९४ हजार ४४ मतमध्ये कांग्रेसका उम्मेदवारले ल्याएको कुल मत ३५ लाख ९० हजार ७ सय ९३ छ। एमालेले प्रत्यक्षतर्फ ३० लाख ८२ हजार २ सय ७७ मत पाएको छ। ५ लाखभन्दा बढी मत अन्तरले कांग्रेस अगाडि देखिएको हो।