काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा अहिले दुई नायिकाको क्यारियरबारे गसिपहरु बन्ने गरेको पाइन्छ । यी दुवै नायिका डेब्युबाटै सफल भएका छन् र रजतपटमा स्थापित पनि बनेका छन् ।
कैलालीकी दीपिका प्रसाई र झापाकी अदिती बुढाथोकी फ्रेस नायिकामध्ये चर्चामा छन् । दीपिकाले ‘ऐश्वर्य’ र अदितीले ‘कृ’ हिट चलचित्र दिएका छन् । ‘ऐश्वर्य’ चलचित्रमा गरेको अभिनय र ग्ल्यामरकै कारण दीपिका सबैको नजरमा परिन् । उनलाई विभिन्न ठूला ब्यानरबाट पनि कामको अफर आइरहेको कुरा सार्वजनिक भएको छ । तर, उनले कुनै पनि चलचित्रमा साइन गरिसकेकी छैनन् ।
दीपिका चर्चित मोडल पनि हुन् । २०५३ कात्तिकमा कैलालीको धनगढीमा जन्मिएकी दीपिका २१ वर्षकी भइन् । मोडलिङ र फेसन सोहरूमा भाग लिएकी दीपिका स्नातकोत्तर अध्ययन गर्दै छिन् । अत्तरिया उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाईकी छोरी दीपिका पढाइका लागि काठमाडौं आएपछि १२ कक्षासम्मको पढाइ गर्दागर्दै फेसबुकमा मोडलिङ गरेका फोटोहरू हालेपछि उनलाई चलचित्रको अफर आउन थालेको हो ।
निर्देशकको प्रेममा दीपिका
‘ऐश्वर्य’ चलचित्रका निर्देशक दिवाकर भट्टराई हुन् । चलचित्र हिट भएपछि भट्टराई पनि चर्चामा आएका । ‘ऐश्वर्य’ को निर्माता रमेश उप्रेती हुन् । उनले दीपिकासँग रोमान्स गरेका थिए । ‘ऐश्वर्य’ मा धेरै चर्चामा आउनेमा दीपिका र प्रशान्त ताम्राकार हुन् । प्रशान्त अहिले नयाँ चलचित्रमा अनुबन्ध भएका छन् । निर्देशक भट्टराई भुवन केसीको लगानीमा बन्ने चलचित्र ‘क्याप्टेन’ को काम गरिरहेका छन् । दीपिका भने अहिले पनि बेराजगार छिन् । उनले केही समयअघि तीन लाख पारिश्रमिक लिएर एउटा नयाँ चलचित्र साइन गरेकी थिइन् । जब सुटिङ सुरु हुने बेला भयो, तब उनी चलचित्रबाट ‘आउट’ भइन् । ‘ऐश्वर्य’ निर्देशक भट्टराईले दबाब दिएपछि उनले सो चलचित्र नखेलेको बताइन्छ । दीपिकालाई निर्देशक भट्टराईले मन पराउँछन् । सोही कारण उनले दीपिकालाई नयाँ चलचित्र नखेल्न दबाब दिएको स्रोतले बताएको छ । भट्टराईले दीपिकाले खेल्ने भए निर्देशक फेर्न, नायक फेर्न र रोल राम्रो लेख्न सुझाव दिएको चलचित्र क्षेत्रमा चर्चा छ ।
अदिती यतै बस्लिन् कि मुम्बई जालिन्् ?
झापा दमककी २४ वर्षीया अदिती बुढाथोकी सामाजिक सञ्जालमा क्लिक हुने अनुहार हुन् । उनले अभिनय गरेको चलचित्र ‘कृ’ मा हालै प्रदर्शनमा आएको थियो । अहिले पनि ‘कृ’ स्वदेशका साथै विभिन्न देशमा प्रदर्शनमा आइरहेको छ । भारतको मुम्बईमा सपरिवार बस्दै आएकी अदिती विशेषगरी अर्धनग्न तस्बिर र मिनीन्युड भिडियोका कारण चर्चामा छिन् । सामाजिक सञ्जालमा निकै चर्चित अदितीलाई ‘ड्रिम्स’ चलचित्रसमेत अफर गरिएको थियो । त्यतिबेला चलचित्र नगरेकी अदिती ‘कृ’ मा भने अभिनय गरिन् । पाँच वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा अदिती प्रवेश गरेकी हुन् । ‘ड्रिम्स’ मा अदितीले नखेलेपछि साम्राज्ञीराज्यलक्ष्मी शाहले अवसर पाएकी थिइन् । जसमा भुवन केसी पुत्र अनमोल केसीले अभिनय गरेका छन् । ‘ड्रिम्स’ नखेले पनि अदितीले अनमोलसँगै ‘कृ’ खेलिन् । पहिलो चलचित्र नै अनमोलसँग खेलेकाले अदितीको चर्चा चुलिएको हो । तर, विभिन्न लफडाका कारण ‘कृ’ ले त्यति चर्चा पाएन । पैसा भने राम्रै कमायो ।
उनको तस्बिरले इन्स्टाग्राममा आगो लगाएको बताउँदै एबिपीले अदितीलाई सन्नी लियोनीभन्दा पनि हट बताएको छ । अदितीका केही तस्बिर अहिले इन्स्टाग्राममा भाइरलसमेत भएका छन् । अदितीले इस्टाग्राममा बलिउड कलाकार दीपिका पादुकोण, अक्षय कुमार र ऋतिक रोशनलाई फ्लो गरिरहेकोसमेत मिडियाले जनाएका छन् । इन्स्टाग्राममा अदितीका तीन लाख फ्लोअर्स छन् । भारतमा मोडलिङ गर्दै आएकी अदितीले केहि भारतीय म्युजिक भिडियोमा समेत काम गरिसकेकी छन् । केही समयअघि मात्रै उनको एक पञ्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो ।
अदितीको चर्चा भारतीय मिडियमा समेत चल्न थालेको छ । उनले इन्स्टाग्राममा हट अवतारका भिडियो र फोटो पोस्ट गर्दै आएकी छिन् । सोही फोटो र भिडियोका कारण उनलाई भारतीय मिडियाले सन्नी लियोनीलाई समेत उछिन्ने छनकसहितको समचार प्रकाशन गरेका छन् । ‘एबिपी न्युज’ नामक एक भारतीय अनलाइन मिडियाले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको छ । एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि मात दिँदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार बनाउँदै अदितीको चर्चा गरेको छ । ‘बलिउडमा हट र बोल्ड हिरोइनको कमी छैन । सन्नी लियोनी जस्ता कयौं हिरोइनले बलिउडमा आगो लगाएका छन्,’ समाचारमा भनिएको छ, ‘आज हामी त्यो हिरोइनको चर्चा गर्दैछौ । जसले बलिउडको हिरोइनलाई पनि पछि पार्र्दैछिन् । ती हुन् नेपाली हिरोइन अदिती बुढाथोकी ।’ अदिती ५ फिट ५ इन्च अग्ली अदितीको सुन्दरताको धेरै निर्माता निर्देशक फ्यान छन् । तर, पहिलो चलचित्रमा खेलेर चर्चा पाए पनि भुवन केसीले अझै अदितीको पारिश्रमिक नदिएको बताइन्छ । जसले गर्दा उनलाई आगामी दिनमा नेपाली चलचित्र गर्ने कि नगर्ने भन्ने समस्या भएको स्रोतले बतायो । सुरुमा उनलाई केही पारिश्रमिक डे«स खरिदका लागि दिइए पनि अहिलेसम्म ‘कृ’ निर्माण पक्षले झुलाउँदै आएको बताइन्छ । ‘कृ’ चलचित्रका निर्माताद्वय सुवास गिरी र भुवन केसी तथा नायक अनमोल केसी अहिले जापानमा चलचित्र देखाउन गएका छन् ।
पुरन थापालाई ऋचा सजिली
काठमाडौं । पुरन थापाको लेखन, निर्माण र निर्देशन रहेको चलचित्र ‘फेरि–फेरि’ को ८५ प्रतिशत छायांकन सकिएको छ । माघ तेस्रो सातादेखि सुटिङ थालिएको चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, धर्मेन्द्र आचार्य, निक शर्मा, ओम प्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डेलगायतका कलाकारको अभिनय छ । चलचित्रको बिहीबार भक्तपुर, सूर्यविनायकमा द्वन्द्व दृश्यको छायांकन गरियो । चलचित्रको क्लाइमेक्स फाइट झन्डै दस दिन लगाएर खिचिएको निर्देशक पुरनले जनाए । ‘चलचित्र निकै हेभी बनेको छ,’ उनले भने, ‘गुणस्तरिय चलचित्र बनाउन कुनै कसर बाँकी राखेको छैन ।’ थापाले बाँकी केही दृश्य, दुई गीत र एउटा फाइटको सुटिङ सिध्याउन अझै दुई साता लाग्ने बताए ।
‘फेरि–फेरि’ को काठमाडांै उपत्यकाभित्रका दृश्य खिचिसकेपछि दामन, चितवन हँुदै कर्णाली पुलसम्म पुग्ने सेड्युल रहेको छ । नेपालमा पहिलोपटक अत्याधुनिक प्रविधिको रेडइपिक डब्लु हेलियम एटके क्यामेराबाट खिचिएको ‘फेरि–फेरि’ को द्वन्द्व एनबी महर्जनले निर्देशन गरेका छन् ।
आफ्ना विगतका चलचित्रभन्दा ‘फेरि–फेरि’ मा बेग्लै प्रकारको भूमिका रहेको अर्पण थापाले बताए । त्यसैगरी, ऋचाले आफूले विगतका चलचित्रमा विभिन्न भूमिका निर्वाह गरेको स्मरण गर्दै ‘फेरि–फेरि’ मा भने नौलो चरित्रमा अभिनय गर्न पाएको बताइन् । ‘एकदम रमाइलो भूमिका छ । सुरुदेखि अन्तिमसम्म नै चलचित्र निकै रोमाञ्चक छ,’ उनले भनिन्, ‘यो मसलेदार चलचित्र हो । त्यसैले यो चलचित्र बेग्लै प्रकारको यादगार हुनेमा मलाई विश्वास छ ।’ निर्देशक पुरनले पनि ऋचा र अर्पणसँग काम गर्न निकै सजिलो भएको बताए । ‘ऋचासँग काम गर्न गाह्रो छ भन्ने सुनेको थिएँ, तर सबै बकवास रैछ,’ पुरनले भने, ‘एकदमै को–अपरेट, प्रोफेसनल अनि सजिली पाएँ । मलाई एकदमै सहयोग भएको छ ।’ सुरेश बज्राचार्यले खिचिरहेको चलचित्रको निर्मातामा पुरनका छोरा निरज थापा छन् । चलचित्रलाई दशैसम्म दर्शकमाझ ल्याउने योजना पुरनको छ ।