गणेशको पूजा आराधना गरी चतुर्थी पर्व मनाइयोे

गणेशको पूजा आराधना गरी चतुर्थी पर्व मनाइयोे

काठमाडौं, २५ भदौ । अग्रपूजाको अधिकार प्राप्त बिघ्नहर्ता भगवान गणेशको पूजा आराधना गरी शुक्रबार गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।  

यस अवसरमा शुक्रबार काठमाडौँ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश मन्दिर लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाइएको छ ।  भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका वर्तालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने गणेश पुराणमा उल्लेख छ ।

सूर्यविनायकमा गत बर्ष रोकिएको गणेश रथ यात्रा यस बर्ष भने सञ्चालन गरिएको भक्तपुर सूर्यबिनायकका स्थानीयले बताएका छन् । मङ्गल चतुर्थीसमेत भनिने यस दिन नेवार समुदायले आजको दिनलाई चथा पर्वका रूपमा मनाउँछन् ।