काँग्रेसले निर्वाचनपछिको समीक्षा गर्दै, महासमिति बैठकको टुंगो लाग्ने

काँग्रेसले निर्वाचनपछिको समीक्षा गर्दै, महासमिति बैठकको टुंगो लाग्ने

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि सुरु भएको  बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समीक्षा हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

निर्वाचनमा पार्टीको पराजयबारे छलफल गर्ने कार्यसूची राखेर बोलाएको यो पहिलो बैठक हो भने निर्वाचनपछिको पार्टीको यो पाँचौँ केन्द्रीय कार्य समिति बैठक हो । यसअघि माघ ४ र ५ गते बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनको परिणामका बारेमा सामान्य समीक्षा भए पनि विस्तृत रुपमा आजको बैठकमा समीक्षा हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

एक दिनभन्दा बढी समयसम्म चल्ने यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान पनि तोक्ने उहाँले बताउनुभयो । निर्वाचनपछि काँग्रेसमा नेतृत्वको आलोचनाका साथ महासमिति भेलाको माग समेत उठ्दै आएको छ । आजको बैठक आक्रमक र आक्रोशयुक्त हुने केन्द्रीय समितिका सदस्यहरुले बताउँदै आएका थिए। यद्यपि बैठक हार्दिकतापूर्वक सम्पन्न भएको प्रवक्ता शर्माले जानकारी दिनुभयाे ।

‘आजको बैठक हार्दिकतापूर्वक सम्पन्न भयो,’ प्रवक्ता शर्माले भन्नुभयाे। केन्द्रीय समितिको बैठक भोलि १० बजे बस्नेछ।