

काठमाडौं, १४ भदौ।सरकारले १२ वर्षभन्दा माथिका उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ ।
त्यसका लागि अमेरिकाको फाइजर कम्पनीले विकास गरेको कोरोनाविरुद्धको खोप असोजसम्म नेपाल ल्याइसक्ने गरी काम भइरहेको छ । तर फाइजरले विकास गरेको खोपलाई माइनस ७० देखि ८० डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले भण्डारणमा समस्या हुने देखिएको छ । फाइजरकै लागि फरक भण्डारण केन्द्र बनाउने विषय हाललाई चुनौतीको विषय भए पनि यो आवश्यक रहेको खोप विज्ञ डा.श्यामराज उप्रेतीले बताउनुभयो । नेपालका झन्डै एक करोड भन्दा बढी १२ वर्षभन्दा माथिका बालबालिका खोपको प्रतिक्षामा छन् ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउने तयारी गरिरहेको हुनाले सोही अनुरुप योजना बनिरहेको बताउनुभयो । पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढिरहेको गण्डकी प्रदेशका ६ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । जसमा १२ वर्षभन्दा माथिका बालबालिकाको सङ्ख्या झन्डै दुई सयको हाराहारीमा छ । कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने आँकलन भइरहेको बेला गण्डकी प्रदेश पनि फाइजरको खोपका लागि केन्द्र सरकारसँग परामर्शमा जुटेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख खिम बहादुर खड्काले बताउनुभयो ।
फाइजरको खोप १२ वर्षभन्दा माथिको उमेर समूहमा झन्डै ८२ प्रतिशत प्रभावकारी देखिएको छ । अमेरिकाको फाइजर, इन्क र बायो एनटेकले विकास गरेको फाइजर खोपको २१ दिनको फरकमा २ मात्रा लगाउनुपर्ने हुन्छ ।