दीपावलीले झिलिमिली सहर, चापाचाप सडक

दीपावलीले झिलिमिली सहर, चापाचाप सडक

केही दिनअघिबाट चुनावी राजनीतिले गर्माएको राजधानी काठमाडौं अबका केही दिन दीपावलीको आगमनले झिलिमिली देखिन थालेको छ । राजधानीका पसल–सटरदेखि सर्वसाधारणका घरघरमा टाँगिएका बत्तीहरूको उज्यालोले उपत्यकाको दृश्य मनोरम देखिन थालेको छ ।

नेपालीहरूको दोस्रो महान् पर्व तिहारका लागि राजधानी छाड्नेको संख्या पनि दिनानुदिन बढ्दो छ । पहिलो ठूलो पर्व दशैँमा जति नै संख्यामा राजधानीबाट नबाहिरिए पनि तिहारका लागि आफ्नो–आफ्नो गाउँ जानेको चाप बाक्लै हुन्छ । अघिल्ला वर्षहरूका तिहारमा जस्तै यस वर्ष पनि ठूलो संख्यामा सर्वसाधारण उपत्यकाबाट बाहिरिन थालेपछि राजधानी काठमाडौँ र उपत्यकाका ललितपुर र भक्तपुर जिल्लामा मानिसहरूको चाप घट्न थालेको देखिन्छ ।

११ वर्षअघिसम्म माओवादी द्वन्दका कारण दशैँ–तिहारमा यति धेरै सर्वसाधारणले उपत्यका छाड्दैनथे । माओवादी शान्ति प्रक्रियामा आएयता भने उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दो छ । काठमाडौंमै बसोवास गर्नेहरू पनि लामो बिदाको सदुपयोग गर्दै विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि राजधानी छाड्ने गरेका छन् । त्यसैले दशैँका लागि उपत्यका छाडेका अझै कतिपय सर्वसाधारण फर्किसकेका छैनन् । राजधानीका अधिकांश विद्यालय तथा क्याम्पसहरू दशैँको घटस्थापनादेखि छठपर्वसम्म नै विदा हुने भएकाले दशैँअघि राजधानी छाडेका विद्यार्थी तथा शिक्षकहरू पनि उपत्यका भित्रिसकेका छैनन् ।

अघिल्लो वर्ष भारतीय नाकाबन्दीका कारण राजधानीमा सवारी इन्धन तथा खाना पकाउने ग्यासको अभावका कारण दशैँको घटस्थापनालगत्तै राजधानीबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको थियो । त्यसवेला इन्धनअभावका कारण कम सवारीसाधन चलेको भए पनि उपत्यका छाड्नेको संख्या अघिल्ला वर्षहरूमा भन्दा कम थिएन । महँगो मूल्यमा इन्धनको जोहो गरेरै भए पनि उनीहरू राजधानीबाट आ–आफ्ना घरतर्फ लागेका थिए ।

विगतका केही वर्षहरूमा अत्यधिक मात्रामा यात्रु चढाउने, छतमा यात्रुका सामान राखेर गाडीको क्षमताभन्दा दोब्बर–तेब्बरसम्म लोड लिएर राजमार्गमा गाडीहरू चलाउने गरिएका कारण दिनहुँ दुर्घटनाका समाचार आउने गर्दथे । तर, विगत दुई वर्षयता सरकारले गाडीमा छत राख्न नपाइने व्यवस्था गरेपछि दुर्घटनामा न्यूनीकरण आएको महसुस गरिएको छ । दुर्घटनालाई शून्यमा नै पु¥याउन नसकिए पनि सो व्यवस्थाले न्यूनीकरणमा सहयोग पुगेको सरोकारवाला निकाय बताउँछन् ।

यातायात व्यवसायीहरू पनि हरेक वर्ष चाडबाडको मुखमा सरकारसँग विभिन्न दबाबमूलक माग राखेर भाडा बढाउने, छतमा सामान राख्न पाउनुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु ओसार्न पाउनुपर्ने आदि उनीहरूको माग हुन्छ । यो शृंखला यस वर्ष पनि चल्यो । सरकारले व्यवसायीको अन्य नाजायज माग स्वीकार नगरे पनि भाडा बढाउने कुरामा भने सहमति जनाउन बाध्य हुँदै आएको छ ।

उपत्यकाबाट सर्वसाधारण मुख्य चारवटा नाकाहरूबाट बाहिरिने गर्दछन् । तीमध्ये पनि अधिकांश यात्रु कलंकीबाट बाहिरि गरेका छन् । पूर्व र पश्चिम जाने यात्रुका लागि कलंकी मुख्य नाका हो । कलंकीपछि सबैभन्दा बढी यात्रु बाहिरिने नाका कोटेश्वर–भक्तपुर हो । पहिले दोलखा, सिन्धुपाल्चोक, रामेछापलगायतका केही जिल्लाका मात्रै यात्रु यो नाका प्रयोग गरेर अरनिको राजमार्ग हँुदै आफ्नो गन्तव्यतर्फ जाने गरेका थिए । अहिले बिपी राजमार्ग सञ्चालनमा आएयता यो राजमार्ग कलंकीको वैकल्पिक नाका बनेको छ । त्यसपछिको यात्रको चाप बल्खु नाकामा हुने गर्दछ । विशेषगरी हेटौँडा जाने यात्रुहरूले यो मार्ग प्रयोग गर्ने गरेको भए पनि पूर्वको यात्रामा जाने साना सवारीसाधन यही बाटो हँुदै गन्तव्यतर्फ लाग्ने गरेका छन् । अर्काे नाका हो, बालाजु बाइपासको नाका । यो मार्ग हुँदै नुवाकोट, रसुवा र धादिङका केही यात्रुबाहक सवारीसाधन उपत्यकाबाट बाहिरिन्छन् ।

बुधबारसम्म राजधानीका विभिन्न कार्यालयहरू सञ्चालनमै रहेकाले राजधानीका सडक खाली भने नै भइसकेका छैनन् । काठमाडौंका असन, इन्द्रचोक ललितपुरको मंगलबजारलगायतका बजारहरूमा तिहारलाई आवश्यक पर्ने सामान खरिद गर्नेको घुइँचो यथावत् छ । बिहीबारपछिका तीन दिनसम्म पनि उपत्यकाबाट यात्रुहरू बाहिरिने क्रम यथावत् रहने देखिन्छ ।

तिहारको एक महिनापछि फेरि निर्वाचनका कारण यात्रुहरू बाहिरिने हुँदा यो वर्ष सडकमा सवारीसाधनको अन्य वर्षहरूभन्दा बढी नै हुने देखिन्छ ।