

काठमाडौं, ११ भदौ।नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुको बैठकले क्रियाशील सदस्यता सम्बन्धी विवाद यथाशिघ्र टुङ्ग्याएर सबै जिल्लामा भदौ १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड दिएकाछन् ।
शुक्रबार कांग्रेस नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको संस्थापन इतरका नेताहरुको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलाई पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरी विवाद टुङ्ग्याएर सवै वडामा भदौ १८ गते नै अधिवेशन गर्न ध्यानाकषर्ण गराउने निर्णय गरेको कांग्रेस क्रियाशील सदस्यता छानविब समितिका सदस्य मिनेन्द्र रिजालले जानकारी दिनुभयो । उहाँले कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले गरेको निर्णयहरु कार्यान्वयन नभएका कारण कतिपय जिल्लाका क्रियाशील सदस्य नामावली सार्वजनिक हुन नसकेको बताउनुभयो । उहाँले जस्तो सुकै व्यवहारिक कठिनाईहरुलाई समाधान गरेर सबैले पार्टीको १४ औँ महाधिवेसन समयमै सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने छलफलको निष्कर्ष रहेकाले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर समस्याको समाधान गरिने बताउनुभयो ।
त्यस्तै पार्टीको १४ औँ महाधिवेसनको पहिलो प्राथकिता भनेको मतदाता नामावली रहेकाले क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने आफूहरुको माग रहेको कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदिश नरसिङ केसीले बताउनुभयो । उहाँले पार्टीलाई वैधानिक रुपले कब्जा गर्ने षडयन्त्र रचिएकाले त्यसकाविरुद्ध रिले अनसन जारी रहेको कुरा नेताहरुका बीचमा राखेको बताउँदै कुनै पक्षको लागि नभएर कांग्रेसको ८ लाख ५२ हजार क्रियाशील सदस्यको पक्षमा लडेको बताउनुभयो ।
कांग्रेस क्रियाशील सदस्यको विवाद मिलिसकेको भनिए पनि वरिष्ठ नेता राचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना तथा अनशनसहितका आन्दोलनका कार्यक्रम गरिरहेका छन् । क्रियाशील सदस्यता विधि र विधान अनुसार सच्याएर सूची अविलम्ब सार्वजनिक गर्नु पर्ने लगायतका माग उनीहरुको रहेको छ ।