विमानस्थलमा सुरक्षा बढ्यो, चोरी घटेन

विमानस्थलमा सुरक्षा बढ्यो, चोरी घटेन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुका सामान चोरिनु सामान्यजस्तो भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको चुस्त व्यवस्थापनका लागि नेपाल प्रहरी, गुप्तचर प्रहरी, सेना, केन्द्रीय अनुसन्धान ब्युरोका चतुर मानिएका विशेष प्रहरीहरू २४सैं घन्टा तैनाथ हुन्छन् । यसबाहेक आउट सोर्सबाट पनि सुरक्षा कार्यका लागि पूर्वसुरक्षाकर्मीलाई त्यहाँ खटाइएको छ । तर पनि यात्रुका सामान चोरिने क्रम भने रोकिएको छैन ।

गत हप्ता मात्र मोबाइल चोरेको आरोपमा विमानस्थलमै कार्यरत सुष्मा थापालाई त्यहीँ खटिएको प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि गौशाला प्रहरी कार्यालयमा पठायो । विमानस्थलको सिसिटिभीमा उनले मोबाइल जस्तै देखिने केही सामान यात्रु बाहिरिने कक्ष बाहिरबाट टिपेर पल्याकपुलुक गर्दै खुसुक्क खल्तीमा राखेको देखिएको थियो ।
विदेशिने एक महिलाले आफ्नो मोबाइल कतै झरेको गुनासो भीडमै गरेकी थिइन् । तर उनी विदेशिइन् र मोबाइल हराएको गुनासो टिपाउनसमेत पाइनन् । यही विषय खोजबिनका क्रममा सिसिटिभी हेरेर पत्ता त लगाइयो, तर कतैबाट पनि सिकायत परेको थिएन । लिखित तथा मौखिक गुनासो नआएको भए पनि विमानस्थलमा तैनाथ प्रहरीले मोबाइल हराएको सुनिएको आधारमा छानबिन प्रक्रिया अघि बढाउँदा थापाले सामान लिएको देखिएपछि तथ्य पत्ता लगाउन गौशाला प्रहरीमा पठाएको थियो । एक रात प्रहरी हिरासतमा बसेपछि थापाले त्यो मोबाइल नभएर लाइटर भएको बताएर उन्मुक्ति पाएकी छन् ।

यता, फागुन २८ गते विदेशी महिलाको ब्याग उठाउने अर्का एक कर्मचारीलाई भने प्रहरीले कारबाहीको दायरामा ल्याएन । सो दिन चीनकी एक महिलाको ब्याग स्टोरबाट देवी पहाडी भन्ने कर्मचारीले लुकाएकी थिइन् । आफ्नो ब्याग हराएपछि ती चिनियाँ महिलाले तत्काल त्यहीं उजुरी पनि टिपाइन् । जहाज उड्ने बेला भइसक्यो, तर ब्याग फेला नपरेपछि प्रहरी र कर्मचारीसमेतले उनलाई ब्याग कतै प¥यो होला, यहाँ भएको सामान हराउँदैन, पछि खोजेर पठाइदिउँला भनी आश्वस्त तुल्याएर जहाजतिर पठाइदिए । यो घटनाको छानबिन गर्दा पहाडीले स्टोरबाट खुसुक्क झिकेर लुकाएको पत्ता लाग्यो । ब्याग उनीबाट लिएर महिलाले पाउने गरी पठाइए पनि चोर्ने र मुलुकको बेइज्जत गर्ने पहाडीलाई भने नेपाल प्रहरीले उन्मुक्ति दिएको छ । दोषीलाई तत्काल कामबाट निष्कासन गर्ने वा विमानस्थलबाट अन्तै पठाएको भए अरु यस्ता गलत नियत भएका कर्मचारीका लागि समेत शिक्षा र सचेतना हुने नागरिक उड्डयन प्राधिकरण विमानस्थलका एक कर्मचारीले तरुणलाई बताए । – तरुणबाट साभार