काठमाडौं, चैत ८ – पार्टी एकीकरणका लागि बनेको कार्यदलका धेरै नेता मन्त्री भएपछि एमाले र माओवादीबीचको एकता प्रकृयामा ‘डिस्क ब्रेक’ लाग्न पुगेको छ । वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर पार्टी एकता गर्ने घोषणा तयारी भएपनि आवश्यक गृहकार्य गर्न खटिएका कार्यदलका सदस्य नै मन्त्री भएपछि एकताका लागि आवश्यक काम अगाडि बढ्न नसकेको हो ।
कार्यदलका सदस्यहरु नै मन्त्री नियुक्त भएपछि उनीहरुले पाएको एकताको लागि आवश्यक प्रतिवेदन तयार पार्ने काम प्रभावित भएको छ । यसअघि चैतमा नै पार्टी एकीकरण गर्ने घोषणा गरिए पनि गृहकार्य नपुग्दा वैशाख ९ का लागि सारिएको थियो ।
पार्टी एकता संयोजन समितिले कार्यदललाई गएको फागुन २५ गते भित्रै आआफ्ना जिम्मेवारी सहितको प्रतिवेदन तयार पार्न समयसीमा दिएको दिएको थियो । कार्यदलले प्रतिवेदन तयार पार्न नसकेपछि थप गरिएको १० दिन बितिसक्दासमेत काम पूरा भएको छैन ।
थपिएको १० दिनमा कार्यदलको बैठक एक पटक मात्र बस्न सक्यो । कार्यदलका सदस्यहरु मन्त्री बनेर व्यस्त भएका कारण बैठक बस्न नसकेको कार्यदलका सदस्य बेदुराम भुषालले जानकारी दिनुभयो ।
पार्टी एकताका लागि माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा सांगठनिक संरचना मस्यौदा निर्माण कार्यदल र एमाले नेता माधवकुमार नेपाल संयोजकत्वमा राजनीतिक प्रतिवेदन निर्माण कार्यदल गठन गरिएको थियो । प्रतिवेदन निर्माणका लागि आवश्यक छलफल समेत हुन नसक्दा एकता प्रक्रियाको काम धकेलिँदै गएको छ ।
थापा अहिले गृहमन्त्री बन्नु भएको छ भने कार्यदलका वर्षमान पुन ऊर्जा, ईश्वर पोखरेल रक्षा, मातृका यादव उद्योग, रघुवीर महासेठ भौतिक पूर्वाधार, गिरिराजमणि पोखरेल शिक्षा, गोकर्ण विष्ट श्रममन्त्री बन्नुभएको छ । ११ सदस्यीय कार्यदललका सातजना मन्त्री बनेपछि एकपटक पनि छलफल हुन सकेको छैन ।
यो कार्यदलले पार्टीको सांगठनिक संरचना कस्तो बनाउने भनेर मस्यौदा निर्माण गर्ने जिम्मेवारी पाएको छ । संघीय संरचना अनुसार पार्टीको गाउँ टोल कमिटिदेखि वडा, नगर, प्रदेश तथा पोलिटब्युरो एवं केन्द्रीय समितिको संरचनाको सन्दर्भमा आवश्यक मोडल तयार पार्ने महत्वपूर्ण जिम्मेवारी छ ।
कार्यदलको बैठक समेत बस्न नसकेको अवस्थामा उपसमितिले भने आफ्नो प्रतिवेदन तयार पारेर बुझाई सकेको छ । उपसमितिको प्रतिवेदनलाई कार्यदलले थप अध्ययन र छलफल गरेर अन्तिम रुप दिनुपर्छ । तर कार्यदलको बैठक नबस्दा सबै काम प्रभावित हुन पुगेको छ । त्यस्तै, एमाले नेता माधवकुमार नेपाल संयोजकत्वको राजनीतिक प्रतिवेदन निर्माण गर्ने कार्यदलले पनि प्रतिवेदन बनाउने कामलाई टुंगो लगाउन सकेको छैन । कार्यदलका दश जनामध्ये दुईजना मन्त्री बनेका छन् । प्रदीप ज्ञवाली परराष्ट्र र शक्ति बस्नेत वन मन्त्री बन्नुभएको छ । यो कार्यदलमा नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठन भएको उपसमितिले समेत राजनीतिक प्रतिवेदन तयार पार्न नसक्दा एकताको काम थप लम्बिन सक्ने आशंका गरिएको छ ।
तर कार्यदलका सदस्य रहेका एमाले नेता सुवासचन्द्र नेम्वाङले भने कार्यदलले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘पार्टी एकता घोषणा गर्ने समय वैशाखमा सरेपछि कार्यदलले पनि थप समय पाएको र त्यसै अनुरुप काम भइरहेको छ ।’ कार्यदलले बनाएका उपसमितिहरुले काम गरिरहेको भए पनि कार्यदलले भने काम नगर्दा एकता प्रकृया लम्बिन सक्ने देखिएको हो ।
-उज्यालो अनलाइनले यो खबर प्रकाशित गरेको छ ।