प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

काठमाडौँ, ३२ साउन।प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको पत्र पढेर सुनाउनुभएको थियो । सर्वोच्चले पुनसर््थापना गरेपनि पुनः सुरु भएको प्रतिनिधिसभा बैठक औपचारिकतामा मात्र सीमित भएको छ । प्रतिनिधि सभाको चालू अधिवेशनमा कुनैपनि नयाँ विधेयक दर्ता नभएको र राष्ट्रिय सभामा उत्पत्ति भै पारित भएर आएका ७ वटा विधेयकहरु सम्बन्धी उक्त सभाको सन्देशको जानकारी सभामा गराइएको सभामुख सापकोटाले बताउनुभयो । त्यसैगरी यस अधिवेशनमा सभाका अघिल्ला अधिवेशनहरुबाट विभिन्न चरणमा रहेका जम्मा ३७ वटा विधेयकहरु प्राप्त भएका थिए । जसमध्ये “कारागार विधेयक, २०७६” का सम्बन्धमा सम्बन्धित समितिबाट सभामा प्रतिवेदन पेश भएको सभामुखले जानकारी दिनुभयो ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाले पुनः ब्युँताइदिएको थियो । साउन ३ गते आइतबार प्रारम्भ भई सोमबारसम्म जम्मा २९ दिन बैठक चालु रहेको थियो ।