अफगानिस्तान घटनाबारे सदनलाई जानकारी गराउन सभामुखद्वारा निर्देशन

अफगानिस्तान घटनाबारे सदनलाई जानकारी गराउन सभामुखद्वारा निर्देशन

काठमाडौँ, ३२ साउन।सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा भएका नेपालीको घटनाका बारेमा जतिसक्दो छिटो सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै समय लिएर नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले अफगानिस्तानमा भएको घटना र त्यहाँ रहेका नेपालीको अवस्था जान्न पाउनुपर्ने विषयमा उठाएको कुरामा तत्काल उद्धार गर्न सभामुख सापकोटाले उक्त निर्देशन दिनुभयो ।सभामुख सापकोटाले भन्नुभयो, “माननीयज्यूले उठाउनुभएकोे विषयवस्तुप्रति संसद्को गम्भीर ध्यानाकर्षण भएको छ, सरकारलाई जतिसक्दो छिटो उक्त विषयमा संसद्लाई जानकारी दिन निर्देशन गर्दछु ।”

पूर्वसञ्चारमन्त्री बाँस्कोटाले अफगानिस्तान सार्कराष्ट्रकै सदस्य राष्ट्र भएको र नेपाल सार्कको अध्यक्ष भएको हुँदा उक्त घटनामा सरकारको दृष्टिकोण आउनुपर्नेमा जोड दिनुभयो । उहाँले अफगानिस्तानमा रहेका नेपाली नागरिक त्रसित र भयभित अवस्थामा रहेका हुनाले सङ्कटमा परेका नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । बाँस्कोटाले भन्नुभयो, “देशमा सरकार छ, देश छ, तर अफगानिस्थानमा रहेका नेपालीको चिन्ता छैन, सरकारलाई त्यस्तो गल्ती गर्ने छुट छैन ।”