आज विक्रम संवत् २०७४ साल कार्तिक २ गते बिहीबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत कार्तिक कृष्ण पक्षको औँशी तिथि राति ११।४६ बजेसम्म रहने छ ।
यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने वृहस्पति पनि तुला राशिमा रहेका छन् । हस्ता नक्षत्र विहान ७।५१ बजेसम्म रहने छ । यसैगरी आज वैधृति योग र चतुष्पाद करण रहेको छ । सूर्योदय प्रातः ६।७ बजे छ भने सूर्यास्त बेलुका ५।२९ बजे हुने छ । आज चन्द्रमा कन्या राशिमा छन् ।
आज लक्ष्मी पूजा हो । यमपञ्चकको तेस्रो दिन अर्थात् कार्तिक कृष्ण औँशीका दिन लक्ष्मीपूजा गरिन्छ । धन सबैका निम्ति प्यारो हुन्छ । जीवनका आवश्यकता परिपूर्तिका निम्ति पनि धन हरेक कार्य अवसरमा नभई नहुने वस्तु हो । धनलाई विनिमयको असली औँजारका रूपमा प्रयोग गरिने भएकाले यसको जीवनमा आवश्यकता परिरहन्छ । चाणक्यले पनि अर्थार्थी जीवलोकोऽयं…. त्यक्तिकै भनेका होइनन् । यो जीवलोक नै अर्थार्थी रहेको छ । धनलाई हिरण्यगर्भ भनिन्छ ।
हिरण्य भनेको सुन हो भने सुनको पनि गर्भमा रहेको मूल्यवत्ता त्यसको गर्भ हो । पौरस्त्य वाङ्मयमा धनकी देवीका रूपमा महालक्ष्मीको आराधना हुने गर्दछ । महालक्ष्मी आद्य नारी स्वरूपा साक्षात् भगवती हुन् ।
महाकाली शक्तिस्वरूपा, महालक्ष्मी धनस्वरूपा र महासरस्वती ज्ञानस्वरूपा भगवतीका तीन गुण पाइन्छन् । दशैँमा महाकालीको, तिहारमा महालक्ष्मीको र माघ शुक्लपञ्चमीमा महासरस्वतीको उपासना हुने गर्दछ ।
कार्तिक कृष्ण औँशीका दिन महालक्ष्मी भगवतीको उपासना हुने गर्दछ । सोही दिन प्रतिपदा तिथि लगेको अवस्थामा गाईको पनि पूजा हुने गर्दछ । गाईलाई पनि लक्ष्मीकै प्रतिरूप मानिन्छ ।
कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर–कोठा पवित्र तुल्याउने धार्मिक सामाजिक एवं वैज्ञानिक मान्यता रहेको पाइन्छ । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंशीको रात पूर्णतः अन्धकार हुन्छ ।
यो अन्धकारमा उज्यालोको प्रकाशले आलोकित पार्न घर–घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । भगवती आद्यमातृशक्ति हुन् । सम्पूर्ण देवताको अङ्गबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान देवीलाई महालक्ष्मी भनिन्छ । जसलाई त्रिगुणमयी प्रकृतिको नामले पनि पुकारिन्छ ।
महिसासुरको बध पनि यिनै देवीले गरेकी हुन् । विचित्र रूप, कान्ति एवं सौभाग्यले सुशोभित देवीका हजारौँ हात छन् ।
जसलाई अठारवटा हात भएकी देवीका रूपमा पूज गर्ने चलन छ । उनका हातमा अक्षमाला, कमल, वाण, खड्ग, वज्र, गदा, चक्र, परशु(वञ्चरो), त्रिशूल, शङ्ख, घण्ट, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु विभूषित छन् ।
नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३ ।