काठमाडौं । यतिबेला प्रदेश १ को भ्रमणका क्रममा सुनसरीमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले २०४७ सालको संविधान पुनर्बहाली गर्ने मुद्दा बोकेका सबै शक्ति, पार्टी तथा संघ–संस्थालाई एउटै छातामुनि आउन सल्लाह दिएका छन् । हिन्दु अधिराज्य पुनस्र्थापनाको अभियानअन्तर्गत मठमन्दिरको दर्शन गर्दै भक्तजनसँग सम्पर्क बढाइरहेका पूर्वराजा शाहलाई सक्रियताका साथ अघि बढ्न आग्रह गर्नेहरू पनि थुपै्र छन् ।
पूर्वमहाराज शाह जहाँ–जहाँ पुग्ने गरेका छन्, त्यहाँ–त्यहाँ ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा घन्किने गरेको छ । यो नारा घन्काउनका लागि छुट्टै संयन्त्र बनाइएको छ । ‘हिन्दु राज्य मात्रै होइन, राजसंस्था नै फर्काउनुपर्छ, सरकार’ भन्दै बिन्ती चढाउनेहरूको पनि कमी छैन । यसरी बिन्ती चढाउनेहरूमध्ये राजनीतिमा सुझबुझ राख्ने केहीलाई बिहान बेलुका छुट्टै बोलाएर पूर्वराजा शाहले भन्ने गरेका छन्– ‘तपाईहरूको कुरा मैले बुझेँ, यसका लागि बलियो संगठन जरुरी हुन्छ, छरिएर होइन, संगठित भएर लाग्नोस्, मेरो विचारमा २०४७ सालको संविधानका पक्षधर सबै शक्ति, राजनीतिक दल र संघ संस्थाहरू एउटै छातामुनि आउनुपर्छ ।’
पूर्वराजा शाहले मुखले मात्रै यस्तो अभिव्यक्ति दिएका हुन् कि ? यस विषयमा केही गृहकार्य पनि भएको छ त ? भन्ने प्रश्नमा डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीका एक नेताले तरुणसँग भने– ‘धार्मिक आन्दोलन बढाउने अभियान थियो, तर भारतमा चुनाव भएका कारण अहिलेका लागि स्थगित गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष आग्रह गरेका कारण रोकिएको हो । तर राजनीतिक अभियान जारी छ ।’ तीनवटा राप्रपालाई मात्रै एकीकरण गर्ने सुरुवाती प्रयास गरिएको र त्यो प्रयासलाई पूर्वराजा शाहले स्थगित गर्न निर्देशन दिएको उल्लेख गर्दै उनले भने–‘२०४७ सालको संविधान पुनस्र्थापना गर्ने अभियानमा नेपाली कांग्रेसको धारमा पनि धेरै नेता तथा जनमत भएका कारण उनीहरूलाई समेत समेट्ने अभियानमा पूर्वराजा होइबक्सन्छ ।’
समाचार स्रोतका अनुसार २०४७ सालको संविधान पुनर्बहाली गर्ने अभियानअन्तर्गत पूर्वराजा शाह र बीपीपुत्र प्रकाश कोइरालाकी श्रीमती सुषमा कोइरलाबीच निरन्तर संवाद भइरहेको छ । प्रकाश कोइरालाकै नेतृत्वमा यस्तो पार्टी बन्ने हो भने आफूले पनि साथ दिन तयार रहेको नेपाली कांग्रेस बीपीका अध्यक्ष हरिबोल भट्टराईले डा.लोहनीलाई बचन दिएका छन् । बीपीपुत्र प्रकाश मात्रै होइन, सुवर्णशमशेर राणाका छोरा रुक्मशमशेर पनि यो अभियानमा सरिक हुन लागेको समाचार स्रोतको दाबी छ । ‘साथै, पूर्वसांसद क्लबमा आवद्ध नेपाली कांग्रेसका धेरैजसो नेताहरू पनि यो अभियानमा छन् । एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र कांग्रेस राख्ने तयारी छ,’ उनले भने ।