विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ लिए ४ वर्षको नियुक्ति

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ लिए ४ वर्षको नियुक्ति

काठमाडौँ, २७ साउन।सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनुभएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त हुनुभएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार घिसिङलाई चार वर्षका लागि नियुक्त गरिएको छ । यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक रहनुभएका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा कार्यादेशसहित विशिष्ठ श्रेणीको पूर्णकालीन सदस्यका रुपमा नियुक्त गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने र शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय गरेको थियो । विशिष्ठ श्रेणीको व्यक्तिका लागि आर्थिक दायित्व पर्ने भएकाले अर्थमन्त्रालयबाट स्वीकृति लिनुपर्ने भएकाले नियुक्तिका विषयमा सार्वजनिक गरिएको थिएन ।

गत भदौमा कार्यकाल सकिएपछि नागरिकस्तरबाट घिसिङको पुनः नियुक्तिका लागि आग्रह गरिए पनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले उहाँलाई अवकाश दिएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको ऊर्जा क्षेत्रमा चमत्कारिक परिवर्तन गर्ने लक्ष्यका साथ घिसिङलाई जिम्मेवारी दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ ।