खुल्यो योगेशलाई मन्त्री नबनाइनुको रहस्य

खुल्यो योगेशलाई मन्त्री नबनाइनुको रहस्य

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा पार्टी सचिव योगेश भट्टराईलाई छुटाएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीको तीव्र आलोचना भएको छ । ओलीले ताप्लेजुङमा चुनावी भाषण गर्दा भट्टराईलाई मन्त्री बनाउने जिम्मा लिएका थिए । तर उनले त्यो वाचा पूरा नगरेपछि उनको आलोचना मात्र गरिएन, प्रधानमन्त्री ओलीको सम्बोधनको उक्त भिडियोलाई भााइरल नै बनाईयो ।

भट्टराई मन्त्री नहुने संकेत पाएपछि सुवास नेम्वाङले पाँचथरका वसन्त नेम्वाङलाई मन्त्री बनाउन लबिङ गरेका थिए, त्यो पनि असफल भयो ।  नेम्वाङको प्रस्ताव अस्वीकार गर्दै ओलीले उनैलाई मन्त्री बन्न आग्रह गरेका थिए  ।  कानुनमन्त्री बनिसकेका अग्नि खरेललाई महान्याधिवक्तामा लगेर थन्क्याइएपछि ओलीले यसपटक भीम रावल र सुवास नेम्वाङलाई पनि मन्त्री बन्न प्रस्ताव गरेका थिए, तर दुवैजनाले अस्वीकार गरिदिए ।
पाँचथरबाट प्रत्यक्षमा निर्वाचित वसन्त नेम्वाङलाई कानुनमन्त्री बनाउन प्रस्ताव लिएर बालुवाटार पुगेका नेता नेम्वाङको प्रस्ताव अस्वीकार गर्दै प्रधानमन्त्री ओलीले भने– ‘बरु तपाईं नै कानुनमन्त्री बन्नुस्, पोर्टफोलियो मिलाउँला ।’ ओलीले त्यसो भनेपछि सुवास नबोली बाहिरिएका थिए ।
मन्त्रिपरिषद्को पछिल्लो विस्तारपछि एमाले वरिष्ठ नेता झलनाथ खनाल खुसी देखिएका छन् । पार्टीभित्र एक्लिँदै गएको अवस्थामा उनका तर्फबाट दुईजना मन्त्री भएका छन् । झलनाथकै समूहबाट सांसदको टिकट पाएका शेरबहादुर तामाङले कानुनमन्त्री भेट्टाए । त्यसैगरी सचिव गोकर्ण विष्टले पनि श्रममन्त्री बन्न पाए । उनी पनि खनालकै कोटामा मन्त्री भएका हुन् । यो मन्त्रिपरिषद्मा माधव नेपाल समूह भने पछाडि परेको छ । सरकारमा राम्रै व्यक्ति छनोट भएको भन्दै मन्त्रिपरिषद् सन्तुलित रहेको खनालले दाबी गरेका थिए । तर योगेश भट्टराईलाई मन्त्री नबनाएकोमा भने उनको पनि असहमति थियो ।

मन्त्री बन्ने चर्चामा रहेका सचिव तथा प्रचार विभाग प्रमुख  भट्टराई मात्रै होइन पोलिटब्युरो सदस्य भानुभक्त ढकाल विस्तारित मन्त्रिपरिषद्मा अटाएनन् । भट्टराई र ढकाल कुनै बेला अनेरास्ववियुमा एउटै कार्यकालका अध्यक्ष र महासचिव थिए । सचिव भट्टराईले पार्टीमा प्रभावशाली संगठक र कुशल वक्ताको  छवि बनाएका छन्, तर पनि उनलाई किन मन्त्री बनाइएन ? जिज्ञासा बढेको छ । लाभका कुनै पदमा नपुग्दै विलासी जीवन बिताउन थालेकाले भट्टराईबाट भ्रष्टाचार हुन सक्ने भयकै कारण प्रधानमन्त्री ओलीले उनलाई मन्त्री नबनाएका हुन्, प्रधानमन्त्री ओली निकट स्रोतले बतायो । हुन पनि योगेश एमालेभित्र नवधनाढ्य नेतामा गनिन्छन् ।
प्रधानमन्त्री ओलीनिकट ढकाल पनि प्रभावशाली नेता मानिन्छन् । नेताहरू  खनाल, नेपाल, वामदेव गौतम, सुवास नेम्वाङलगायतले यी दुईलाई मन्त्री बनाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । त्यस्तै, मन्त्रीको प्रतिस्पर्धामा रहेका केन्द्रीय सदस्यहरू पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, यज्ञराज सुनुवारले पनि अवसर पाएनन् । माधव नेपालले यज्ञराज सुनुवारलाई मन्त्री बनाउने आश्वासन दिएका थिए भने ओलीले भट्टराईलाई मन्त्री बनाउने आश्वासन दिएका थिए । यो विषयमा दुवै नेताले जनतालाई ढाँटेका छन्, एमालेका एक नेताले तरुणलाई बताए । मन्त्रिपरिषद् विस्तारमा एमाले नेता माधवकुमार नेपाल मौन देखिएका छन् । उनी मन्त्री छनोट गर्ने बैठकमा समेत उपस्थित थिएनन् । समाचार स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारमा राष्ट्रपति भवन हाबी भएको छ । प्रधानमन्त्री ओलीले जातीय र क्षेत्रीय सन्तुलन मिलाउन खोज्दाखोज्दै पनि राष्ट्रपति भवनले हस्तक्षेप गरेको समाचार स्रोतले जनाएको छ । एमालेका सूचीमा जनजातिको प्रतिनिधित्व नगन्य छ । -साभार तरुण साप्ताहिकबाट