काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् । यसको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । अध्यक्षमा भट्टसँगै जमुना गुरुङ पनि प्रतिस्पर्धामा थिइन् ।
२००३ स्थापना भएको एनआरएनएको निर्वाचनमा पहिलो पटक प्यानलगत आधारमा चुनाव भएको हो । संघको उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भए । यस्तै महासचिवमा डा बर्दी केसी,सचिवमा डिबी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित भए । शनिवारदेखि सुरु भएको एनआरएनएको ८ औ विश्वसम्मेलनको मतदान सोमबार बेलुकादेखि सुरु भएको थियो । मतदान राती साढे ११ बजेसम्म चलेको थियो ।
२० वर्ष अगाडि अध्ययनको लागि जापान पुगेका भट्ट एनआरएनएमा दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल कोषाध्यष भएर काम गरिसकेका छन् ।