राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा

काठमाडौँ, १० साउन। नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत राजीनामा दिने बताउनुभएको हो । राजीनामा दिने जनाएसंगै अब्दुल्लाह अलमुताइरी अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालयमा पुग्नुभएको थियो । एन्फा कम्प्लेक्समा प्रशिक्षक अलमुताइरीसंगको छलफल गर्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजीनामा फिर्ता लिन आग्रह गर्नुभयो ।

अध्यक्ष शेर्पाले साफ च्याम्पियनसिप नजिकै आईसकेको कारण टिमको तयारी प्रभावित हुने भन्दै राजीनामा फिर्ता लिन आग्रह गर्नुभएको थियो । अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताउनुभएको छ ।

प्रशिक्षक अलमुताइरीले अध्यक्ष शेर्पासँगको भेटमा आफु पछिल्लो समय तनाबमा रहेको समेत बताउनुभएको थियो । एन्फा प्रवक्ता किरण राईले अब्दुल्लाहलाई आराम गर्न भनेर भनेको र यो विषयमा थप छलफल हुने गरेर कुरा भएको बताउनुभयो । उहाले अब्दुल्लाहले राजिनामा नदिएको र केहि तनावमा रहेकाले आराम गर्न भनेर पठाएको बताउनुभयो ।

यता अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजिनामा प्रकरणमा जोडिएको आश्चर्य व्यक्त गर्नुभयो । प्रशिक्षक अब्दुल्लाहले सामाजिक सञ्जालमै आफ्नो नाम उल्लेख गर्दै राजिनामाको घोषणा गरेपछि नेम्वाङले अहिलेसम्म कोचसँग हाई हेल्लो पनि राम्रो गरी नभएको बताउँदै यसको छानविन गर्न माग गर्नुभयो । आफू सधैं नेपाली फुटबलको विकासमा लागेको बताउँदै यदि आरोप प्रमाणित भएमा आफूले एन्फाबाट राजिनामा दिने पनि बताउनुभयो ।

तर, उहाले केही समय अघि महासचिवमार्फत प्रशिक्षकलाई स्पष्टिकरण सोध्न आग्रह गरेको भने स्वीकार गर्नुभयो । प्रशिक्षकले मिडियामा पदाधिकारीको बारेमा बोलेकोमा आफूले अहसमति जनाएको नेम्वाङले बताउनुभयो ।