दीपमा अभिभावक कविता वाचन प्रतियोगिता सम्पन्न

दीपमा अभिभावक कविता वाचन प्रतियोगिता सम्पन्न

बुटवल, ९ साउन । दीप बोर्डिङ हाई स्कूलले गुरुपूर्णिमाको अवसरमा साउन ९ गते शनिबार अभिभावक कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ । जुम एप मार्फत् भर्चुअल रूपमा सम्पन्न प्रतियोगितामा दीप बोर्डिङ हाई स्कूलमा अध्ययन गर्ने विद्यार्थीहरूका ४० जना अभिभावकहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रतियोगीहरूले शिक्षा, लैङ्गिक समानता, नैतिक अनुशासन, संस्कार, प्रविधिले निम्त्याएका विकृति, आमाको महत्व, देशको स्वाधीनताप्रतिको चिन्ता, कोरोना महामारी लगायत समसामयिक विषयवस्तुमा कविता वाचन गर्नुभएको थियो ।

प्रतियोगितामा बोल्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बालबालिकाका प्रथम गुरु आमाबुबाको सम्मान र विद्यार्थीहरूलाई अभिभावकको सक्रियता मार्फत् सिकाइ र अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो भने विद्यालयले कोरोना महामारीको विषम परिस्थितिमा पनि विद्यार्थीहरूलाई अनलाइनका माध्यमबाट नृत्य, गायन, कविता वाचन, वक्तृता, चित्रकला जस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

प्रतियोगितामा रञ्जु गौतम घिमिरे प्रथम, विमला अर्यालले द्वितीय र सुन्दर तरामुले तृतीय स्थान हासिल गर्नुभएको छ भने प्रतियोगितामा प्रथम हुनेले ५ हजार, द्वितीय हुनेले ३ हजार र तृतीय हुनेले २ हजारका साथ प्रमाणपत्र प्राप्त गर्ने र पुरस्कार वितरण विद्यालयमा विशेष कार्यक्रम मार्फत वितरण गरिने कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले बताउनुभयो ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले सभाध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूको विशिष्ट आतिथ्यता, उपाध्यक्ष उमाकान्त चापागाई, उपप्राचार्य त्रय ज्ञानु थापा, सुरेन्द्र कुमार शाक्य, प्लस टु संयोजक वसन्त कुमार जोशी लगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत बुटवल बहुमुखी क्याम्पसमा अध्यापनरत प्रा.डा. हिरण्यलाल ज्ञवाली, उप प्राध्यापक कलाधर अर्याल र सरस्वती संस्कृत क्याम्पसका प्राचार्य बालकृष्ण पाठकले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।