चीनबाट भेरोसेल खोप लिएर निगमको जहाज आउँदै

चीनबाट भेरोसेल खोप लिएर निगमको जहाज आउँदै

काठमाडौँ, ७ साउन ।चीनसँग सरकारीस्तरमा खरिद गरिएको कोरोनाबिद्धको भेरोसेल खोप लिएर नेपाल वायु सेवा निगमको जहाज आज दिउँसो काठमाडौँ आइपुग्दैछ ।

गएराति बेइजिङ गएको जहाज आज दिउँसो २ बजे आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । जहाज आजै फेरि खोपको अर्को खेप लिनका लागि बेइजिङ जाने छ । सरकारले बाँकी खोप ल्याउनका लागि थप तीन उडान गर्ने भएको छ ।

यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । यस्तै कोरोना विरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजारभन्दा धेरैले लगाइसकेका छन् । जोन्सन एण्ड जोन्सन खोप अभियान अहिले वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मात्र सञ्चालन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।