कर्णाली प्रदेश सभा बैठक फेरि अवरुद्ध

कर्णाली प्रदेश सभा बैठक फेरि अवरुद्ध

काठमाडौँ, २७ असार।प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को विरोधका कारण आइतबार पनि कर्णाली प्रदेशको प्रदेश सभा बैठक अवरुद्ध भएको छ । 

आफ्नो दलबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिनुपर्ने लगायतका माग राखेर एमालेले शुक्रबारको संसद बैठक अवरुद्ध गरेको हो । यसअघि पनि एमालेले निरन्तर बैठक अवरुद्ध पार्दै आएपनि सहमतिको ठोस प्रयास सुरु हुन सकेको छ्रैन । आइतबारको बैठकमा पनि एमालेका सांसदहरुले सर्वोच्च अदालतले दिएको आदेशलाई कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाउदै बिरोध गरेका थिए । बैठकको सुरुमै एमाले सांसद पदम रोकायले प्रदेश सरकारले असंवैधानिक कदम चालेका कारण निरन्तर सदन अवरुद्ध गर्नुपरेको बताउनुभयो । उहाले सरकारले आफ्ना गल्ती नसच्चाएसम्म सदनको कारवाही अघि बढ्न नसकने बताउनुभयो ।

सांसद रोकायले बोलेपछि पनि एमाले सांसदले उठेर विरोध जनाएपछिसभामुख राजबहादुर शाहीले यही असार २९ गते दिउँसो २ बजे सम्मका लागि बैठक स्थगित गर्नुभयो । माओवादी नेतृत्वको प्रदेश सरकारमा एमालेका तीन मन्त्रीहरु भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सहभागी हुनुहुन्छ । फ्लोर क्रस गरेका प्रकाश ज्वालासहित तीन मन्त्रीलाई एमालेले कारबाही गरेको थियो । जेठ २७ गते सर्वोच्च अदालतले पदमुक्त भएका चारै जनालाई एमाले सांसदको रूपमा पदमै रहन अन्तरिम आदेश दिएपछि एमाले संसदीय दलको बैठकले मन्त्रीबाट फिर्ता आउन निर्देशन दिएको थियो ।

यद्यपि तीनैजना मन्त्री सरकारबाट फिर्ता भएका छैनन् । उनीहरुले तत्काल सरकारबाट नहट्ने अडान लिएका छन् । जस्ले गर्दा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ । एमालेभित्रको आन्तरिक किचलोका कारण प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटमाथि छलफल हुन सकेको छैन ।