सशक्त, गतिशील र भरोषायुक्त काँग्रेस बनाउने मेरो लक्ष्य होः रामचन्द्र पौडेल

सशक्त, गतिशील र भरोषायुक्त काँग्रेस बनाउने मेरो लक्ष्य होः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सशक्त, गतिशील र भरोषायुक्त बनाउने आफ्नो लक्ष्य भएको बताएका छन् । पौडेल पार्टीको आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी हुन् । साथै उनले पार्टीका वरिष्ठ नेता र युवाको फ्यूजनबाट कांग्रेसलाई सशक्त बनाउने योजना रहेको बताए ।

संस्थापनइतर समूहका नेता पौडेल पक्षमै आधा दर्जन बढि आकांक्षी छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, र सुजाता कोइरालाले नेतृत्वमा दावी गर्दै आएका छन् ।

शुक्रबार उनीहरुबीच सर्वसम्मत नेतृत्व चयनका बारेमा छलफल भएपनि कुनै सहमति भने हुन नसकेको बताइएको छ । सबै नेताहरुले आफूले जित्ने आधार पेश गर्दै अन्य आकांक्षीको समर्थन खोजेका थिए ।