

काठमाडौं, १८ असार । प्रतिनिधि सभा विघटन मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइ निरन्तर छ । आज पनि प्रधानमन्त्रीका कानुन व्यसायीले बहस सुरु गर्नेछन् । हिजो प्रधानमन्त्रीका कानुन व्यवासायीले तीन घण्टा बहस गरेका थिए । अब उनीहरुले बहसका लागि एक घण्टा ३० मिनेट समय पाउनेछन् । आज बरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणी अधिकारी र अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले १०–१० मिनेट बहस गर्ने बताइएको छ ।
प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दाहालले ७ मिनेट बहस गर्नेछन् । अधिवक्ता भोजराज आचार्य, सिपी रेग्मी, बलबहादुर राई, रुद्रप्रसाद पोखरेल, शान्ति देवी खनाल, विष्णुमाया भुषाल, धर्मराज रेग्मी, अनन्त लुईँटेल र लोकनाथ खरेलले प्रधानमन्त्रीको तर्फबाट बहस गर्दैछन् । उनीहरु सवैलाई ७ मिनेटको दरले समय छुट्याइएको छ ।
प्रधानमन्त्री तर्फका कानुन व्यवसायीको बहस सकिएपछि सभामुख अग्नि प्रसाद सापकोटाका कानुन व्यवसायीको बहस शुरु हुनेछ । उनीहरुलाई एक घण्टा समय दिइएको छ । त्यसपछि सर्वाेच्च र नेपाल बारबाट झिकाइएका एमिकस क्युरीले राय दिनेछन् । उनीलाई २ घण्टा दिइनेछ । अन्त्यमा रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । यसका लागि उनीहरूलाई ३ घण्टा समय दिइनेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते राति प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । जसविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि गत बुधबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।