माथिल्लो तामाकोशीको आगामी हप्ताबाट विद्युत उत्पादन सुरु हुदै

माथिल्लो तामाकोशीको आगामी हप्ताबाट विद्युत उत्पादन सुरु हुदै

काठमाडौं, १३ असार । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आगामी हप्ताबाट १ सय ५२ मेगावाट विद्युत् उत्पादन सुरु गर्ने भएको छ । असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको र आजबाट प्राविधिक परीक्षण सुरु गरिने आयोजनाले जनाएको छ ।

पहिलो चरणमा पहिलो युनिटको परीक्षण सम्पन्न भइसकेको छ । कूल ४ सय ५६ मेगावाट क्षमताको यो आयोजना निर्माण शुरु भएको झण्डै १० वर्षपछि सम्पन्न हुन लागेको हो । आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि आजदेखि असार १९ गतेसम्म आवश्यक तयारी गर्न लागिएको बताइएको छ ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २ सय २० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सबस्टेशनमा जोडिनेछ । नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागले एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी गराएको छ ।